Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रकाशन गृह धेरै हुँदा पाठ्यपुस्तक पाउन मुस्किल

प्रकाशन गृह धेरै हुँदा पाठ्यपुस्तक पाउन मुस्किल

  • 248
    SHARES
  • प्रकाशन गृह धेरै हुँदा पाठ्यपुस्तक पाउन मुस्किल

    कैलाली । कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउँछन् ।

    शैक्षिक सत्र सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि उनका बालबालिकाले अझै पाठ्यपुस्तक पाएका छैनन् । बजारका सबै पुस्तक पसलमा धाउँदा पनि पुस्तक नपाएपछि घरमा बालबालिकालाई फकाउनै मुस्किल भएको उनले बताए ।

    ‘एक महिनादेखि विद्यधालयले तोकेको पाठ्यपुस्तक भेटिएको छैन । भेटिए पनि एउटा आज अर्को भोलि गरेर भेटिन्छ ।’, राजेन्द्रले भने, ‘पुस्तक नभएपछि बालबालिका विद्यालय जान मान्दैनन् । बजारमा पुस्तक पनि पाइँदैन । पाइए पनि बर्सेनि पुस्तक परिवर्तन भएको हुन्छ ।’

    यो समस्या झेल्ने उनी मात्रै होइनन् । निजी विद्यालयले कमिसनको चक्करमा विद्यालयपिच्छे फरक–फरक पुस्तक तोकेकाले र बर्सेनि पाठ्यपुस्तक परिवर्तन भएकाले प्राय सबै अभिभावकलाई बजारमा सहजरूपमा पाठ्यपुस्तक पाउनै मुस्किल छ ।

    कतिपय विद्यालयले त आफ्नै पुस्तक पसल सञ्चालनमा ल्याएका छन् । त्यहाँ पाइने पाठ्यपुस्तक अन्य पुस्तक पसलमा पाइँदैन ।

    ‘बर्सेनि पाठ्यपुस्तक परिवर्तन हुँदा नयाँ पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता छ । त्यो पनि सबै पुस्तक पसलमा पाइँदैन ।’, स्थानीयवासी सावित्रा तिमिल्सिनाले भनिन्, ‘पाठ्यपुस्तक पनि निकै महँगा छन् । पहिले १० प्रतिशत छुट पाइने भए पनि यसवर्ष छुट पनि छैन । रहरले भन्दा बाध्यताले पुस्तक किन्नु परेको छ ।’

    टीकापुर नगरपालिकामा ३५ सामुदायिक र ४७ संस्थागत तथा निजी विद्यालय छन । त्यसमा पनि ३७ वटा विद्यालय प्याब्सनको मातहतमा छन । सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै भए पनि संस्थागत तथा निजी विद्यालयमा भने २८ भन्दा बढी पब्लिकेसन्सका पाठ्यपुस्तक प्रयोगमा ल्याइएका छन ।

    धेरै पब्लिकेसन्सका पाठ्यपुस्तक किन्नुपर्ने भएकाले त्यसको मारमा अभिभावक र विद्यार्थी पर्दैआएका हुन । पुस्तक पसलेले प्रर्याप्त पुस्तक खरिद गर्न नसक्दा सहजैरुपमा अभिभावकले पनि पाउँदैनन् ।

    समयमै पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समेत असर पर्दै गएको छ । ‘हामीले त्यत्रो पब्लिकेसन्सको पुस्तक मगाएर बिक्री गर्नसक्ने अवस्था छैन । पुस्तक नराखौँ भने व्यापारबाट विस्थापित हुनुपर्ने अवस्था छ ।’, पुस्तक व्यापारी देवी जैशीले भने, ‘एउटा विद्यालयमा लागू भएको पाठ्यपुस्तक अर्कोमा काम लाग्दैन । कसरी पुस्तक बिक्री गर्ने ? कस्को पुस्तक बिक्री गर्ने ? अभिभावकलाई जस्तो तनाब छ हामीलाई पनि त्यस्तै हुन्छ ।’

    यस विषयमा टीकापुर नगरपालिकालाई पनि सबै जानकारी भएर पनि केही गर्न सकेको छैन । नगरपालिकाका शिक्षा शाखा रहेका प्रमुख उपसचिव दमनसिंह चौधरीले निजी विद्यालयसँग पाठ्यक्रमका विषयमा छलफल गर्ने तयारी भएको बताए ।

    उनले व्यक्तिगत स्वार्थका कारण विद्यालयले आफूखुसी पाठ्यपुस्तक तोक्ने गरेकाले त्यसलाई निरुत्साहित गर्ने जिम्मा नगरपालिकाको भएको उल्लेख गरे ।

    ‘हामीमा पनि यो खबर आइपुगेको छ । आजभोलि नै प्याब्सन र एनप्याव्सनलाई बोलाएर त्यस विषयमा छलफल गर्ने तयारी गरेका छौँ ।’, उपसचिव चौधरीले भने, ‘व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा विद्यालयले शिक्षाको नाममा व्यापार गरेको भान हामीलाई पनि भएको छ । यसलाई रोक्छौँ ।’

    यसवर्ष निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्यालाई समाधान गर्न नसके पनि विद्यार्थीले प्राप्त गर्न नसकेका पाठ्यपुस्तकको व्यवस्थापनमा विद्यालयलाई जिम्मेवार बनाउन सकिनेमा उनले जोड दिए ।

    नगरपप्रमुख रामलाल डगौराले निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्याबारेमा पुस्तक व्यवसायीसँग छलफल भएकाले त्यसलाई समाधान गरिने बताए ।

    ‘यो विषय अलि ढिलो उठ्यो । हामीलाई पनि ढिलो गरी जानकारीमा आयो । अब अर्को वर्षदेखि कडाइका साथ निगरानी गर्छौं’, नगर प्रमुख डगौराले भने, ‘जे भइरहेको छ, त्यो गलत भइरहेको छ । गलतलाई सुधार गर्न हामी लाग्छौँ ।’

    प्याब्सन टीकापुर शाखाका अध्यक्ष मानबहादुर थापा पाठ्यपुस्तकमा एकरुपता ल्याउन गाह्रो रहेको उल्लेख गरे । ‘अब हामीले मात्रै भनेर एकरुपता ल्याउन निकै कठिन छ । प्याब्सनले भने बमोजिमको निर्णय सम्बन्धित विद्यालयले कार्यान्वयन नगरेकाले ती विद्यालयलाई पुस्तकको स्वतन्त्रता छोडिदिएका छौँ ।’

    अध्यक्ष थापाले भने, ‘हामीलेभन्दा पनि नगरपालिकाले त्यसको निर्णय गर्न सक्यो र त्यसलाई कार्यान्वयन गर्न सक्यो भने राम्रो हुन्छ । अहिले फरक–फरक पाठ्यपुस्तकका कारण अझै कैयौँ विद्यार्थीको हातमा पाठ्यपुस्तक नपरेको कुरा सहि हो ।’
      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij