Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म

गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म

  • 316
    SHARES
  • गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
    तनहुँ । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँका विभिन्न योजना समेटिएका छन ।
     
    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा तनहुँमा ट्रमा अस्पताल स्थापना गर्नेदेखि सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेसम्मका योजना उल्लेख गरिएको छ ।
     
    राजमार्गमा हुने सवारीसाधन दुर्घटनाका घाइतेको प्राथमिक उपचारका लागि ट्रमा अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले उल्लेख गरे ।
     
    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी-१ बरादीमा ट्रमा अस्पताल निर्माणका लागि केही समय अगाडि प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिङ्खडाको ध्यानाकर्षण गराएका थिए ।
     
    पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड ७२ किलोमिटर रहेको र यहाँ दैनिक दुर्घटना भइरहने हुनाले ट्रमा अस्पतालको आवश्यकता खड्किएको उनले उल्लेख गरे । अस्पताल निर्माण गर्न पालिका प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको चुमानको भनाइ छ ।
     
    यसैगरी सरकारले तनहुँको पुडिटारमा औद्योगिक क्षेत्र स्थापना व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकता दिन नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
     
    प्रदेशको गौरवको सडक आयोजनाको रूपमा रहेको तनहुँको भीमाददेखि नवलपुर डेढगाउँमा सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
     
    मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडक अन्तर्गत तनहुँ खण्डमा कालोपत्र गर्ने काम भइरहेको छ ।
     
    तनहुँको घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्म एघार किलोमिटर सडक कालोपत्रको काम अगाडि बढेको छ । २०५१ मा ट्रयाक खुलेको उक्त मार्ग कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन ।
     
    घिरिङ गाउँपालिकाका पूर्वअध्यक्ष रनबहादुर रानाले यस मार्गलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेर कालोपत्रको काम सुरु गरेपछि यस भेगका जनता हर्षित भएको जानकारी दिए ।
     
    पूर्वअध्यक्ष रानाले भने, ‘यो मार्गहुँदै अहिले नवलपुर पुग्न सकिन्छ, तर धुलोको एकदमै समस्या छ, कालोपत्र भएपछि स्थानीयवासीलाई निकै सहज हुन्छ ।’ सरकारले आँबुखैरेनीमा रहेको कृषि तथा पशुपक्षी इकाइको सुदृढीकरणलाई प्राथमिकता दिएको छ ।
     
    गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनी गाउँपालिका-३ मा तरकारीको विषादी परीक्षणका लागि इकाई स्थापना गरिएको थियो । तर उक्त इकाइ कर्मचारी अभावमा प्रभावित हुँदै आएको छ ।
     
    सरकारले सबै सामुदायिक क्याम्पसलाई कार्य सम्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाउने भएको छ । यो नीति तथा कार्यक्रमले व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पससमेत लाभान्वित हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij