वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् ।
उनले नेतृत्वका गलत निर्णयविरूद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताए । दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आजदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताए ।
उनले भने, ‘अब पनि प्रश्न गर्न सकेनौँ भने गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ । पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ, पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ ।’
महामन्त्री थापाले गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताए ।
पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको उनको भनाइ छ । उनले भने, ‘हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’
नेपाली कांग्रेसलाई बदल्नै पर्ने र कांग्रेसलाई बदल्न सबै बदलिनुपर्ने उनले बताए । उनले भने, ‘पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔँ । पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ, यही हो बदलिने भनेको ।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिकरूपमा संकटको अवस्थामा पुगेको उल्लेख गर्दै साधारण खर्च बढ्ने तर पूँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij