Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सरकारमा जानेसँग लामो यात्रा हुने सम्भावना छैनः महेन्द्र राय यादव (भिडियोसहित)

सरकारमा जानेसँग लामो यात्रा हुने सम्भावना छैनः महेन्द्र राय यादव (भिडियोसहित)

  • 2.0K
    SHARES
  • सरकारमा जानेसँग लामो यात्रा हुने सम्भावना छैनः महेन्द्र राय यादव (भिडियोसहित)

    जनता समाजावादी पार्टी, नेपाल (जसपा) सरकार र विपक्षी गठबन्धन दुईतिर बाँडिएको छ । एउटै दल सत्तापक्ष र विपक्षमा विभाजन भएको अनाैठाे अवस्था छ । वास्तवमा जसपा सत्तारुढ हो कि प्रतिपक्ष हो ? के पार्टी विभाजन उन्मुख भएको हो ? यो प्रश्न अहिले आम जनताको चासोको विषय बनेको छ । यसै सन्दर्भमा जसपाका शीर्ष नेता एवं पूर्वमन्त्री महेन्द्र राय यादवसँग वेबटिभी खबरले गरेको कुराकानीको सम्पादित अंशः 

    images

    जसपा सत्तारुढ दल हो कि विपक्षी ?

    जसपा विपक्षी दल हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुष ५ गते संसद विघटन भएपछि नै हाम्रो पार्टीको केन्द्रीय बैठकले त्यसलाई प्रतिगमन भनेको हो । अहिले पनि हामी त्यो एजेन्डमा यथावत छौं । कुनै पनि पार्टीको निर्णय मात्र आधिकारीक हुन्छ । हाम्रो पार्टी सरकारमा गएको छैन् । उहाँहरु (महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष) व्यक्तिगत रुपमा सत्तामा जानु भएको हो । व्यक्तिगत स्वार्थका लागि सरकारमा जानु भएको हो । सरकारमा जानेहरुलाई हामीले साधारण सदस्यताबाट हटाइसकेका छौं । जो सरकारमा सहभागी हुनुहुन्छ उहाँहरु स्वतः साधारण सदस्यताबाट खारेज हुनुहुन्छ ।

    एउटै पार्टीको एउटा हिस्सा ओली नेतृत्वको सरकारमा सहभागी हुने अनि अर्को हिस्सा यो सरकार गिराउन प्रयास गर्ने अवस्था कसरी आयो ? जसपामा खास नमिलेको के हो ?

    ओली नेतृत्वको सरकारले जुन बेला पार्टी फुटाउन सहज बनाउने अध्यादेश ल्यायो । खासगरी त्यसबेला राजपा र समाजवादी पार्टी फुटाउन आएको अध्यादेश थियो । त्यसले गर्दा हतारमा दुई पार्टी रातारात मिले । तर एकता भएकोमा उहाँहरु (सरकारमा जानेहरु) पछुताउनु भएको थियो । ओलीसँग उहाँहरुको लामो संगत देखिन्छ । अहिले प्रकट भएको मात्र हो । आफ्नो स्वार्थ र सत्ता प्राप्तिका लागि उहाँहरुले जनताको आँखामा छारो हाल्नु भएको छ । नितान्त व्यक्तिगत लाभका लागि सत्तामा गएर जनतालाई अधिकारविहिन बनाउने काममा उहाँहरु लाग्नु भयो । पार्टी निर्णयमा आधारमा चल्ने हो । हाम्रो पार्टी सरकारमा गएको छैन् । व्यक्ति गएको मात्र हो । हामीले सरकारमा जानेलाई कारबाही गरिसकेका छौं । जो सरकारमा जान्छन उनीहरु जसपा हैनन ।  

    mahendraraya1.jpg

    जसपाको माग पुरा भएकाले सरकारमा गएको ठाकुर-महतो पक्षको भनाई छ नि ? 

    जतिवेला संविधान संशोधनसहित हाम्रा माग पुरा गर्ने अवस्था थियो । त्यत्तिखेर हाम्रा माग पुरा भएन । नेकपा कायम रहेका बेला सरकारको यही नेतृत्वले हाम्रो माग पुरा नगरेको हो ।  हाम्रा मुद्दा संसदबाटै पुरा हुने हो । जुन ठाउँबाट माग पुरा हुनुपर्ने हो, त्यो संसद विघटन भयो । हामीले त्यसको विरोध गर्यौं । तर, हाम्रै साथीहरु अहिले विघटनको पक्षमा उता मिल्न जानु भयो । 

    केही माग त पुरा भएको छ नि ?

    अहिले काम चलाउ सरकारले दिर्घकालिन असर पार्ने कुनै काम गर्न पाउँदैन । यो कुरा हाम्रो पार्टीबाट जाने साथीहरुलाई पनि थाहा छ । यो कुरा जानी जानी जनताको आँखामा छारो हाल्ने मात्र काम उहाँहरुबाट भइरहेको छ । नागरिकता अध्यादेश सर्वाेच्च अदालतले रोकिदियो । काम चलाउ सरकारले ल्याएको अध्यादेश कार्यान्वयन हुँदैन भन्ने थाहा भएर पनि माग पुरा भयो भन्दै सरकारमा जान केही साथीहरु तयार भए ।

    नेपालमा कुनै पार्टीमा विभाजन आउने अवस्था भयो भने त्यसमा विदेशी शक्तिको चलखेल भन्ने गरिन्छ । अहिले त्यस्तो भएको त हैन ? 

    व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउने, आफ्नो स्वार्थका लागि सरकारमा जाने तर विदेशी शक्तिलाई दोष दिने काम यहाँ हुने गरेको छ  । व्यक्तिगत लाभहानी हेरेर निर्णय गर्नेहरु यता उता हुनुमा विदेशीको हात हुँदैन । वैचारिक शुन्यता भएका व्यक्तिहरु, सिद्धान्त बोक्न नसकेका, व्यक्तिगत स्वार्थमात्र हेर्ने साथीहरु उता (सरकारमा) जानु भएको हो ।

    मधेस केन्द्रीत दल एक हुँदा जनता खुशी भएको देखिन्थ्यो । यसरी छोटो अवधिमा विभाजनको अवस्था आउँदा जनतालाई के जवाफ दिनु हुन्छ ? 

    राष्ट्रिय पार्टी हुन चुनावमा तीन प्रतिशत भोट ल्याउनु पर्ने वाध्यात्मक अवस्था भएपछि हामी ६ वटा पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन गरेका थियौं । त्यो पार्टी बन्दा मधेसका जनता निकै खुशी थिए । त्यसकारण भोट पनि राम्रो पायौं ।

    त्यही बेलादेखि नै समाजवादीसँग एकताको लागि मैले प्रयास गरेको हुँ । तर हाम्रा साथीहरु ओलीसँगै मिल्नेमा प्रयासरत हुनुहुन्थ्यो । प्रदेश २ बाट सदस्य चुन्नका लागि भएको राष्ट्यि सभाको चुनावमा पनि साथीहरु ओलीसँगै मिल्नु भयो । पहिलेदेखि नै उता नजिक हुनुहुने साथीहरु अहिले सरकारमा जानु भएको मात्र हो ।

    जसपा गठन भनेको ठूलो खाले एकता थियो । मधेसदेखि पहाडसम्म हाम्रो संगठन बढेको थियो । तर उहाँहरुले बाटो विराउनु भयो । पार्टीको विधि प्रक्रिया मिचेर सरकारमा जानु भयो । यो अराजकता र अनुशासनहिनता हो । सरकारमा जानु वहाँहरुको व्यक्तिगत अकांक्षामात्र हो । मुद्दाविहिन अवस्थामा उहाँहरु सरकारमा जानु भएको हो ।

    mahendraraya2.jpg

    यो अवस्थामा जसपा एक रहने संभावना अझै छ ?

    पार्टी नफुटोसभन्ने हाम्रो चाहना हो । पार्टी फुट्नु हाम्रा मतदाताको चाहनाविपरित हो । यसको केही न केही नकारात्मक असर त पर्छ नै । उहाँहरूको क्रियाकलाप के हुन्छ । त्यसपछि कुरा हुन्छ । कुरा प्रष्ट भएपछि पार्टीभित्र छलफल हुने वातावरण बन्छ ।  उहाँहरू सरकारमा गएपछि पार्टीले उहाँहरूलाई कारबाही गरेको छ । उहाँहरूसँग लामो यात्रा हुने सम्भावना मैले देखेको छैन । पार्टीमा बस्ने हो कि होइन, उहाँहरूले नै तय गर्ने हो । जसपा सरकारमा गएको होइन, उहाँहरूले नैतिक रूपमा जसपाका नेता हौं भन्न पनि मिल्दैन ।

    उहाँहरू पार्टीको निर्णय विपरीत सरकारमा जानु भएको छ । जुन सरकारले हाम्रो माग पुरा गरेन त्यही सरकारमा उहाँहरू सहभागी हुनुभएको छ । केही व्यक्तिहरू सरकारमा जाँदैमा मुक्तिको आन्दोलन विचलित हुँदैन । १३ महिनासम्म एकताका बाँकी काम गर्न उहाँहरूले नै रोक्नु भयो ।  एकता हुन नसक्दा हिमाल, पहाड, मधेस, तराईमा जुन ढंगले हामी जाने भन्ने थियो, त्यसमा केही प्रभाव परेको छ । एक वर्षदेखि त कोरोनाले पनि यसमा असर गरेको छ । 

    mahendraraya.jpg

    कोही सरकारमा कोही विपक्षमा हुँदा आम जनतामा सरकारात्मक सन्देश जाला त ?

    केही साथीहरु सरकारमा जाँदा मनोवैज्ञानिक रूपमा जसपालाई असर पुग्ला कि जस्तो लाग्ला, तर त्यस्तो हुँदैन । यो सरकारसँग उहाँहरू प्रतिनिधिसभाको चुनावकै बेलादेखि जोडिन खोज्नु भएको हो ।एमालेकै मतदाताले उहाँ (राजेन्द्र महतो) लाई जिताउनु भएको हो । राष्ट्रियसभामा घाँटी जोडियो, सत्ता लोलुपताकै कारण अहिले सरकारमा जानु भयो । सत्तामै जानका लागि उहाँहरूले जसपा एकता गर्न नचाहनु भएको हो । जनताले यो कुरा बुझेका छन् । 

    जसपामा अहिले कस्को पक्षमा बहुमत छ ? 

    ७ सय ८१ जना हाम्रो केन्द्रीय कमिटीमा हुनुहुन्छ । ४ सय समाजवादीको तर्फबाट र ३ सय ८१ राजपाबाट छन् । ५१ जनाको कार्यकारिणीमा ३१ जना हामीसँग छ, बाँकी उहाँहरूसँग छ । संसदमा १६/१६ हो दुवैपक्षको, जसमा थप ५ जना उहाँहरूले लानु भएको छ ।  कार्यकारिणी र केन्द्रीय समितिमा हामी बहुमतमा छौं । अहिले संसदमा उहाँहरु बहुमतजस्तो देखिनु भएको छ । तर, मन्त्री बनेका त सरकारमा रहनुहोला तर जो मन्त्री बन्नु भएको छैन उहाँहरु हामीसँग हुनुहुन्छ । 

    संसद पुनर्स्थापना भएपछि उहाँहरु हामीसँग आउनुहुन्छ । मन्त्री नबनेका सांसदहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ । यो पाटी नै आधिकारिक भएकाले सबै आउनुहुन्छ । केही सांसदहरू मन्त्रीमा नाम लेखाउने हतारले जानु भयो । सिद्धान्त बोकेको पार्टी हाम्रो हो ।  पहिले वेदानन्दले पनि मधेसी जनतालाई धोका दिए । अहिले पनि केही बेदानन्दहरू बाँकी रहेछन् भन्ने देखिन्छ, तर त्यस्ता बेदानन्दहरू आफैं सकिन्छन्, जनताले साथ दिँदैनन् । 

    हेर्नुहोस् भिडियो 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology