Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

महोत्तरीमा पाँचौंपटक निषेधाज्ञा जारी

महोत्तरीमा पाँचौंपटक निषेधाज्ञा जारी

  • 2.0K
    SHARES
  • महोत्तरीमा पाँचौंपटक निषेधाज्ञा जारी

    जलेश्वर । कोभिड-१९ महाव्याधिको संक्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक-पटक अवधि थपिँदै अहिले पाँचौँपटक जारी गरिएको हो । गए मध्यरातदेखि लागू पछिल्लो निषेधाज्ञा अवधि एक साता कायम रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

    जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड-१९ संक्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । महाव्याधिले जेठ मसान्तसम्म ८१ जनाको ज्यान लिइसकेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म  महामारीले १८ जनाको मृत्यु भएको थियो ।

    यसपालि अहिलेसम्म दुई हजार ५६७ जना यो महाव्याधि संक्रमणमा परेका छन् । अहिलेसम्म एक हजार २३० जना निको भएका कार्यालयका कोभिड-१९ संकट व्यवस्थापन स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिए । जिल्लामा हाल नौ जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् ।

    अन्य एक हजार २४७ संक्रमित स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि संक्रमणमा परेका थिए ।

    जिल्लामा पाँचौंपटक जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यसअघि बिहान तीन घण्टामात्र किराना पसल सञ्चालनको अनुमति रहेको थियो । अहिले भने साँझ पनि तीन घण्टा अत्यावश्यक सामग्रीका पसल खुल्ने जनाइएको छ ।

    यद्यपि सुरक्षाका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । यस अवधिमा भारतीय सीमावर्ती नाका पूर्ण बन्द रहने र सार्वजनिक यातायात, हाटबजार, समूहमा हिँडडुल र विद्यालय बन्द नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij