वेबटिभी खबर
बाग्लुङ । काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ ।
बूढेसकाल लागेपछि उनी गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् ।
छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरी राखेकी छिन् ।
अब गाउँमा मान्छेनै नहुने चिन्ता उनलाई छ । एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ ।
उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे ।
अहिले गाउँ-गाउँमा टोल-टोलमा विकास पुगेको छ मान्छे छैनन् । गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् ।
खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ ।
वि.सं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिँदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।
पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् ।
स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउँछिन् । उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको बताइन् ।
उनले भनिन्, ‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामीहरु एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन-फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ । बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले ।’
स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार शहर बजारमा सुविधा खोज्दै झरेको बताए ।
उनले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको सुनाए । चौध वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनको भनाइ छ ।
स्थानीय विदेश जना थलेपछि उनीहरूमा महत्वकाक्षां बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताए ।
सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताउनुहुन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
काठेखोला गाउँपालिका-३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताए । गाउँमा एकै पटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उनको भनाइ छ ।
उनले जनसंख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताए ।
धम्जाबाट सबैभन्दा बढी पोखरा, बाग्लुङ, बुटवल र चिवतनमा लगायतका शहरमा बसाइँसराइ गरेर जानेको संख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ ।
उनले भने, ‘मान्छेहरु अलिअलि पैसा कमाउन थाले भने बजारनै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवद्र्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौँ । हामीहरुले गर्ने प्रयास गर्छौँ, हिजो स्वास्थ्य, शिक्षा, विद्युत्लगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ ।’
वडा कार्यालयको अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन् ।
वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइँसराइ गरेर गाउँ छाड्नेको संख्या बढी रहेको स्थानीयको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij