वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला कर्मचारीलाई अधिकार प्राप्तिको संघर्षसँगै क्षमता वृद्विका लागि योजनाबद्धरुपमा अघि बढ्न सुझाव दिए ।
आज यहाँ आयोजित नेपाल निजामति कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले कुनै पनि क्षेत्रमा सफल हुन क्षमता वृद्धि आवश्यक रहेको बताए ।
उनले भने, ‘अधिकार प्राप्तिको संघर्षसँगै क्षमता वृद्धि पनि आवश्यक छ, योजनाबद्ध ढंगले अधिकारसँगै क्षमतावृद्विका प्रयास योजनाबद्धरुपमा अघि बढाउन यो भेला आयोजना भएको मैले ठानेको छु ।’
उनले हकअधिकार प्राप्त गर्न र प्राप्त अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिए । नेकपा एमाले स्थापना कालदेखिनै समानताको पक्षमा लड्दै आएको भन्दै उनले समानताको मान्यताबाट आफूहरु पछि नहटने बताए ।
उनले देश र जनताप्रति इमान्दार हुँदै सेवाभावले प्रेरित भइ काम गर्न महिला कर्मचारीलाई सुझाव दिए । उनले फुकोट-कर्णाली आयोजना भारतीय कम्पनीलाई दिइएकोप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदिरहेको नदीमै रिजर्भर नबनाइकन ४८० मेगावाट बिजुली निकाल्न सकिन्छ । यो आयोजना नेपालले निर्माण गर्नेबारे मैले २०७६ मै निर्णय गरेको थिए ।’
अध्यक्ष ओलीले सीमा नाकामा संयुक्त चेकजाँच पोष्ट निर्माणको काम आफ्नै कार्यकालमा सुरु भएको समेत दाबी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij