Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

विद्यालयकाे भवन नहुँदा बाँझो खेतमै बसेर पढ्न बाध्य विद्यार्थी

विद्यालयकाे भवन नहुँदा बाँझो खेतमै बसेर पढ्न बाध्य विद्यार्थी

  • 206
    SHARES
  • विद्यालयकाे भवन नहुँदा बाँझो खेतमै बसेर पढ्न बाध्य विद्यार्थी
    जुम्ला । जुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका-१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पढ्न  बाध्य छन ।
     
    उनीहरू स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन । विद्यालयको भवन गत वर्ष असोज १९ देखि २७ गतेसम्म अविरल वर्षासँगै आएको बाढीपहिराेमा परी भत्किँदा विद्यार्थी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन ।
     
    जैर गाउँ सदरमुकाम सिमकोटबाट ३८ कोष टाढा पर्छ । छ कोठे माटोले छाएको विद्यालय भवन भए पनि बाढी पहिराेले तीन कोठा भत्काएको र बाँकी तीन कोठा जीर्ण भएर बस्नै नमिल्ने अवस्थामा रहेका कारण गत असोजदेखि नै सबै विद्यार्थीलाई अर्काको बाँझो खेतमा बसालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानध्यापक मीनबहादुर रावतले बताए ।
     
    बाल विकास देखि कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा घाम लागेको समयमा विद्यार्थी खेतमा राखेर पठनपाठन गरिए पनि पानी परेको दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रावतले गुनासो गरे ।
     
    विद्यालय पुनःनिर्माणका लागि गाउँपालिका, सामाजिक विकास कार्यालय, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश योजना आयोगमा पटक-पटक अनुरोध गर्दा पनि कसैले सुनुवाइ नगरेको सर्केगाड-१ का वडाअध्यक्ष बलबहादुर कार्कीले बताए ।
     
    विद्यालय भवन बाढीपहिराेले भत्काएपछि राम्रोसँग पठन-पाठन नहुँदा विद्यार्थी सङ्ख्या एक सय दुईबाट घटेर ७८ मात्र रहेका छन । रावतले भने, ‘ती विद्यार्थीलाई पनि घाम पानी छेक्ने कक्षा कोठा व्यवस्था काहीँ कतैबाट पहल नभएपछि केही सीप नलागेर घाम लागेको दिन मात्र खेतमै बसालेर पठनपाठन गर्नु हाम्रो बाध्यता हो ।’
     
    विद्यालयमा दुई जनाको दरबन्दी, बालविकास शिक्षक एक, पालिकाबाट अनुदान शिक्षक एक र विद्यालय कर्मचारी एक गरी जम्मा पाँचजना कार्यरत छन । विद्यालय भवन अभावमा अहिले अर्काको बाँझो खेतमा विद्यार्थीलाई तीन ठाउँमा भेला गरी पठनपाठन गरिँदै आएको छ ।
     
    हिउँदको मौसममा जसोतसो गुजारा चलाए पनि वर्षाको मौसममा भने कठिन हुने गरेको उनले बताए । बाँझो खेतमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने हुँदा विद्यार्थी घरबाट काठको टुक्रा बोकेर ल्याई भुइँमा राखेर बस्ने गरेका छन ।
     
    रावतका अनुसार वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग विद्यालय भवन निर्माणमा सहयोगका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन सकेको छैन । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology