वेबटिभी खबर
काठमाडौं । २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुपर्यो ।
यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्यु भयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भयो ।
नेपाल, भारत, चीन, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हङ्गेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो ।
यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले पनि धेरै संख्यामा आरोहीको मृत्यु भएको २८ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताए ।
‘यसपाली चिसो बढी थियो, मौसमले पनि साथ दिएन, कतिपय दक्ष र अनुभवी गाइड पर्याप्त नभएकाले पनि मृत्यु बढेको हुन सक्छ’, शेर्पाले भने । विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार प्रतिकूल मौसमका कारण यो वर्ष धेरै संख्यामा आरोहीको दुःखद् मृत्यु भएको छ ।
‘यो पटक मौसमकै कारण धेरै आरोहीको मृत्यु भएको हो, मौसम सफा भयो भनेर आरोही अघि बढे बिचमा मौसम छिटोछिटो परिवर्तन भयो । यसपटक मौसम प्रतिकूलताका कारण नै धेरैको मृत्यु भएको छ’, निर्देशक खतिवडाले भने ।
यस याममा आरोहीको संख्या बढी भएको भनी प्रचारमा आएको विषय सत्य नरहेको भन्दै निर्देशक खतिवडाले मौसमले साथ नदिएकाले आरोहीको भिड बढेको उल्लेख गरे ।
निर्देशक खतिवडाले भने, ‘विदेशी सञ्चार माध्यमले आलोचना गरिरहेका छन् धेरै आरोहीलाई अनुमति दिइयो भनेर तर हामी (पर्यटन विभाग) त्यसलाई स्वीकार गर्दैनौँ ।’
निर्देशक खतिवडाले ३० दिनका लागि कूल चार सय ७८ आरोहीलाई आरोहण अनुमति दिइएको र औसतमा दैनिक १६ जनाको आरोहण हुने अनुमानसहित आरोहण अनुमति दिइएकाले आरोहीको संख्या बढी भनेर आलोचना गर्नुको तुक नरहेको बताए ।
चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
धेरै संख्यामा आरोहीलाई अनुमति दिइएकाले सगरमाथामा मृत्यु पनि बढेको र आरोहीको जाम लागेको भन्ने विदेशी सञ्चारमाध्यमका कुरा सत्य नभएको बरु प्रतिकुल मौमसका कारण केही दिन आरोहीहरूले एकै समयमा बढी भिडभाड गरेकाले धेरै संख्यामा मानवीय क्षति भएको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको भनाइ थियो ।
‘यस यामको सगरमाथा आरोहणमा मौसमका कारणले धेरै मृत्युदर बढेको देखिन्छ । कुनै आकस्मिक र ठूलो विपद् त हैन मौसमकै कारणले धेरै मानवीय क्षति भयो ।’ विभागका अनुसार सामान्यतयः अप्रिल अन्तिमसम्म ‘रोप फिक्सिङ’को काम सकिन्छ ।
मे महिनाभरी आरोहण चल्छ । यो संख्या सगरमाथामा भएका ठूला विपद्पछिको सबैभन्दा धेरै हो । यसअघि २०१५ विस २०७२ वैशाख १२ गते आएको गोरखा महाभूकम्पका कारण १९ जनाको मृत्यु भएको थियो ।
त्यसअघि २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो । मौसम प्रतिकूलताका साथै हाईअल्टिच्यूटका कारण पनि यो वर्ष धेरै आरोहीको मृत्यु भएको इमाजिन नेपालका कार्यकारी निर्देशक दाबा ग्याल्जेन शेर्पाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij