वेबटिभी खबर
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीका कारण केही पक्की तथा झोलुङ्गे पुल बगेका छन् । बाढीका कारण मेलम्ची नगरपालिका-११ को मेलम्ची बजारका अधिकांश घर डुबानमा परेका छन् र बाढीले बगाउने जोखिम बढेको छ । ‘दुई सय भन्दा माथि घरधुरी रहेको मेलम्ची बजारका अधिकांश घरहरु बाढीका कारण डुबानमा परेका छन् । केही घरको आंशिक भाग बगाएको पनि छ,’ नगरपालिकाकी उपमेयर भगवती नेपालले भनिन् ।
उनले मानवीय क्षतिको जानकारी नरहेको बताइन् । ‘मानवीय क्षति भएको अहिलेसम्म जानकारीमा छैन,’उनले भनिन्, अधिकांशलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको छ । केही स्थानीयहरु भने अझै पनि डुबानमा परेको घरको छतमा हुनुहुन्छ । उहाँहरुको पनि उद्धार प्रयास भइरहेको छ ।’
अहिलेसम्म पाँचवटा पुल बगाएको भन्ने जानकारीमा आए पनि यकिन गर्न नसिकएको उनले बताइन् । उपमेयर नेपालले भनिन्, ‘कम्तीमा दुईवटा झोलुङ्ग पुल र एउटा पक्की पुल बगाएको पुष्टि भएको छ । अरु पुलहरु पनि बगाएको भन्ने छ, तर खोलामा बाढी ठूलो रहेकाले यकिन गर्न सकिएको छैन ।’
स्थानीय बासिन्दाहरुलाई इन्द्रेश्वरी मावि, माथिल्लो क्षेत्रमा रहेका घरहरु तथा सुरक्षा निकायको आश्रयमा राखिएको उनले बताइन् । खोलामा बाढीको अवस्था मंगलबार रातिको जस्तो छैन, तर अहिले पनि निकै ठूलो बाढी रहेकाले उद्धार तथा राहतको काम प्रभावित भएको उनले जानकारी दिएकी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij