वेबटिभी खबर
काभ्रे । काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ ।
सरकारको चालु आर्थिक वर्षको बजेटबाट ‘चार भञ्ज्याङ, चार सुरुङ मार्ग’ कार्यक्रमअन्तर्गत दुई सुरुङ मार्गको अध्ययन थालिएको हो ।
ललितपुरको गोदावरी तथा काभ्रेपलाञ्चोकको पनौती ९मानेदोभान० सडक खण्डमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ ।
यसका लागि अध्ययनको मस्यौदा प्रतिवेदन तयार भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्र ललितपुरले जनाएको छ ।
सरकारको चालु आवको योजनाअन्तर्गत गोदावरी-पनौती सुरुङमार्ग पनि एक हो ।
अध्ययनले उक्त सडक खण्डमा सुरुङमार्ग बनाउन उपयुक्त हुने देखिएको जनाएको छ । केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर दीप बाराहीका अनुसार गोदावरी(पनौती -मानेदोभान) सडक खण्डमा तीन दशमलव छ किलोमिटर दूरीको सुरुङ मार्ग बनाउन सकने प्रारिम्भक मस्यौदा कार्यालयमा पेस गरिएको छ ।
कार्यालयले थप अध्ययनको चरणमा रहेको जनाएको छ । चालु आवको १० लाखमा उक्त अध्ययन थालिएको थियो । यस्तै अरनिको राजमार्गलाई छोटो दूरी बनाउन परिकल्पना गरिएको भक्तपुरको ताथली तथा काभ्रेपलाञ्चोकको रविओपी हुँदै पाँच खालसम्मको सुरुङमार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययनको काम सुरु हुने जनाइएको छ ।
केन्द्रका इञ्जिनियर सोनी श्रेष्ठका अनुसार ताथली-रविओपी-पाँचखाल सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि कन्सलटेन्ट छनोट भएको छ भने थप प्रक्रिया अघि बढाइने भएको हो ।
ताथली-रविओपी सुरुङमार्ग भने करिब चार दशमलव नौ किलोमिटरको हुने अनुमान गरिएको छ । ताथली-रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चालु आवमा ५० लाख बजेट विनियोजन गरिएको थियो । उक्त सुरुङमार्ग निर्माण भएमा अरनिको राजमार्ग हुँदै छिमेकी चीनको सीमा जोड्न करिब ३५ किलोमिटर सडक छोटिने छ ।
सरकारले चालु आवका लागि २०७९ जेठ १५ गतेको बजेट भाषणमा काठमाडौं उपत्यकाको भञ्ज्याङतर्फ छोखा-छहरे, गोदावरी-पनौती र साँगा-बनेपा खण्डको सुरुङमार्ग निर्माण सम्भाव्यता अध्ययन गर्ने तथा सुरुङमार्ग विकास कार्यक्रमका लागि एक अर्ब १९ करोड रकम विनियोजन गरिएको उल्लेख गरेको थियो ।
अरनिको राजमार्गअन्तर्गत प्रस्ताव गरिएको साँगा-बनेपा सुरुङमार्गको विषय भने चालु आवको करिब अन्त्यसम्म उठान गरिएको छैन । जहाँ हाल छ लेनको सडक निर्माण सुरु गरिएको छ ।
यसैबीच धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय ९केयू०ले जिल्लाको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन थालेको छ ।
गाउँपालिकाको ४ नं वडास्थित सेतीभीरको सुक्खा पहिरोलाई छलेर सुरुङमार्ग निर्माण गर्ने गरी डिजाइनको काम भइरहेको जनाइएको छ ।
वडा नं २ को दुर्लुङखोला-बाइस सय ढुंगा हुँदै वडा नं १ को च्याम्राङबेँसी चौतारासम्म सुरुङमार्ग निर्माण गर्ने गरी अध्ययन गरिएको विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा।श्यामसुन्दर खड्काले बताए ।
उनका अनुसार उक्त सुरुङ मार्गको प्रारिम्भक अध्ययन गर्ने क्रममा करिब एक हजार तीन सय मिटर र एक हजार २५० मिटर लम्बाइको दुई मार्गको डिजाइन तयार भइरहेको हो ।
उनले अध्ययनको अन्तिम प्रतिवेदन बनाउने क्रममा आठ मिटर चौडाइ वा राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार ११ मिटर चौडाइको बनाउने भन्नेबारे छलफल भइरहेको बताए ।
यस्तै केयूले पछिल्लो समय विश्वविद्यालय परिसरमा सडक सुरुङ मार्ग निर्माणको काम गरिरहेको छ । विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि विश्वविद्यालय परिसरमा निर्माण सुरु गरेको सुरुङ मार्गका प्रवेशद्वारतर्फ र आउट लेट (बाहिर निस्कने) ठाउँतर्फ सुरुङ निर्माण भइरहेको विश्वविद्यालयका सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा.खड्काले बताए ।
उनले विश्वविद्यालयको आफ्नै केही रकम र केही परियोजनाको सहायताबाट सुरुङ निर्माणको काम भइरहेको जानकारी दिए ।
उनले भने, ‘केयू परिसरमा निर्माण भइरहेको सुरुङमार्ग विश्वविद्यालयका विद्यार्थी तथा अन्यलाई नेपालको मध्यपहाडी तथा विभिन्न स्थानमा त्यहाँको भू-बनोट अनुसार कसरी र कस्तो सुरुङ मार्ग बनाउन सकिन्छ भनेर अध्ययन गर्ने स्थलका रूपमा यो सुरुङमार्ग रहने अपेक्षा गरेका छौँ ।’
विश्वविद्यालयमा एक जनाले विद्यावारिधि तह र पाँच जनाले स्नातकोत्तर तहमा सुरुङ मार्गमा नै अध्ययन गरिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij