वेबटिभी खबर
बाँके । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ ।
लम्पी स्किन रोगको संक्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । संक्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको संक्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिए ।
‘केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सिन आएको छैन’, चिकित्सक ओलीले भने । घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा.ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको संक्रमण देखिएको उनको भनाइ थियो । राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।
नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा.शंकर न्यौपानेले संक्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए । संक्रमणका कारण दूधको उत्पादन घटनु तथा पशु संक्रमणबाट मुक्त भए पनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेका छन ।
सचिव डा.न्यौपानेले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु संक्रमणको मुख्य लक्षण भएको जानकारी दिए ।
‘यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ’, सचिव डा.न्यौपानेले भने । संक्रमण भएको पशु भए त्यसलाई सामूहिक रूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको संक्रमण न्यूनीकरण हुन सक्ने डा.न्यौपानेले सुझाव दिए ।
उनका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेर यसको संक्रमण फैलन सक्छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन ।
लुम्बिनी प्रदेशमा ७४ हजार दुई सय ८९ पशु लम्पी स्किन रोगबाट पशु संक्रमित भएका छन । अहिलेसम्म दुई हजार सात सय ८० पशुको मृत्यु भएको भने प्रदेशका पाँच हजार सात सय ५० पशुलाई भ्याक्सिनेसन गरिएको पशु अस्पताल बाँकेले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij