वेबटिभी खबर
ताप्लेजुङ । बाढी पहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढी पहिरोले खानेपानी आयोजनामा क्षति पुर्याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन ।
खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढी पहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका-७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका हुन ।
पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले शुद्ध पानी खान समस्या भएको स्थानीयवासीको भनाइ छ ।
बाढी पहिरोले खानेपानीको मुहान अङ्गुवा खोला र थाढे खोलाको मुहानमा ३० भन्दा धेरै ठाउँमा पहिरोले क्षति पुर्याएकाले खानेपानीको समस्या आएको थाढे खोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीष्माराज लिम्बूले बताए ।
अध्यक्ष लिम्बूले भने, ‘अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको छ । खानेपानीको मुहान बगाएको छ । केही खानेपानीका संरचानमा पूर्णरूपमा क्षति गराएकाले अहिले खानेपानी आपूर्तिमा समस्या भएको छ ।’
बाढीपहिरोले सुरुम खिमका केराबारी, बुरुमखिम र टारी विभिन्न खानेपानीको पाइप बगाउँदा करिब दुई सय ९० घरपरिवार खानेपानीबाट प्रत्यक्ष प्रभावित भएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले बताए ।
मेरिङदेन गाउँपालिकासमेत खानेपानीको समस्या ह्ँदै आएको छ । खानेपानी आयोजनाको संरचना बाढीले बगाएपछि खाने पानीको समस्या भएको गाउँपालिकाले जनाएको छ ।
खानेपानीको पाइप, मुहान तथा ट्यांकीसमेत बगाउँदा ७४ घरपरिवार खानेपानीबाट वञ्चित भएको मेरिङदेन गाउँपालिकाका विपद् व्यवस्थापन समितिले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij