Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खेर गइरहेको पानी सदुपयोग गरी माछापालन, वार्षिक एक करोड ३० लाख आम्दानी

खेर गइरहेको पानी सदुपयोग गरी माछापालन, वार्षिक एक करोड ३० लाख आम्दानी

  • 239
    SHARES
  • खेर गइरहेको पानी सदुपयोग गरी माछापालन, वार्षिक एक करोड ३० लाख आम्दानी

    पर्वत । आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी पर्वतका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आएका छन ।

    पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी गरिरहेका छन ।

    २१ वर्ष लामो प्रहरी सेवा र २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सम्हालेका तिमिल्सिनाले आफूसहित अन्य चार जना स्थानीयको सामूहिक लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन ।

    मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रफलमा तीन करोड लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा एक करोड ३० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । जनप्रतिनिधि बनेसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ ।

    चारैतिर वन र दुईतिर खोलाकोबीच भागमा रहेको पातीखोला रेम्बो ट्राउट पालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट ४० मिनेटको दुरीमा पुग्न सकिने उनको फर्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।

    फार्म यतिबेला विभिन्न क्लब, संघ संस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवम् किसान अध्ययन तथा अवलोकनका लागि आउने गरेका तिमिल्सिनाले बताए । ‘फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौंलगायत शहरका माछा पारखीलाई पुर्‍याउन भ्याइनभ्याई भएको छ’, तिमिल्सिनाले भने ।

    उनका अनुसार फार्ममा पाँच जनाले रोजगार पाएका छन । फार्ममा वार्षिक सवा लाख माछा उत्पादनको क्षमता रहेको छ । २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मा लगायत व्यक्तिले सञ्चालन गरेका थिए ।

    केही वर्षअघि आएको बाढीले फार्म पूर्णरूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाको सामूहिक लगानीमा पुनः नयाँ फार्म सञ्चालन गरिएको थियो ।

    फर्म व्यवस्थापनको सबै जिम्मा तिमिल्सिनाले लिएका छन । फार्मबाट प्रतिवर्ष करिब एक करोड ३० लाख आम्दानी हुने गरेको छ भने झण्डै सवा करोडको हाराहारीमा खर्च हुने गरेको सञ्चालक शर्माले जानकारी दिए ।

    अन्य समयमा फार्मबाट मनग्ये आम्दानी हुने गरेको सुनाउँदै उनले कोरनाकालमा धेरै दुःख र हैरानी झेल्नुपरेको बताए । शर्माका अनुसार अस्थायी र स्थायी गरी कूल ३७ पोखरी छन ।

    ‘फार्म सञ्चालनका लागि सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र पर्वतले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ’, शर्माले भने ।

    केही महिनाअघि मात्रै मत्स्य विकास केन्द्रले फार्मको थप स्तरोन्नति गरी पोखरी निर्माणका लागि पाँच लाख सहयोग गरेको शर्माले जानकारी दिए । हाल रेम्बो ट्राउट माछा प्रतिकेजी एक हजारमा बिक्री हुने गरेको छ ।

    विकास तिमिल्सिनाकी धर्मपत्नी सरस्वतीले भनिन्, ‘दाना ल्याउन र माछा ढुवानी गर्न कच्ची बाटो भएकाले केही कठिन भएको छ । किसानका गफ गर्ने सरकारले यस्ता उद्यमीहरूलाई राहात हुने गरी कृषि सडकको स्तरोन्नति गरिदिए हुन्थ्यो ।’

    फार्म दुई खोलाको बीचमा रहेकाले आवातजावत गर्न पुल नहुँदा काठको कच्ची पुल आफैले निर्माण गरी ओहोरदोहोर गर्नुपरेको उनको भनाइ थियो । भारतीय बजारबाट सस्तो दरको माछा स्थानीय बजारमा सहजै आउने भएकाले बजारीकरणका लागि केही समस्या हुने गरेको तिमिल्सिनाको गुनासो छ ।

    उनका अनुसार भारतीय बजारको माछा चाररपाँच सय केजी पाइन्छ । ‘हाम्रो स्थानीय उत्पादन स्वाद र गुणस्तरमा राम्रो भए पनि उपभोक्ता सबैले गुणस्तर नहेर्ने भएकाले समय-समयमा केही समस्या झेल्न परिरहेको छ’, तिमिल्सिनाले भनिन् ।

    तिमिल्सिनाले चोरी निकास भई भारतीय बजारबाट आउने माछाको गुणस्तरीयता मापन गर्न, उपभोक्ता प्रतिकूल हुने खालका माछा बिक्री वितरणमा रोक लगाउन तथा नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरवाही गर्नेलाई कडा निगरानी गर्न तीनै तहका सरकारकासँग माग गरिन् ।

    ‘स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने भएकाले स्थानीयको रोजाइमा यहाँ उत्पादित माछा पर्ने गरेको छ’, तिमिल्सिनाले भनिन् । यहाँ उत्पादन हुने माछाको माग स्थानीय कुश्मा-बाग्लुङ बजारका साथै पोखरा, काठमाडौंलगायत क्षेत्रमा हुने गरेको उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # माछापालन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij