वेबटिभी खबर
मनाङ । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरूवा वितरण गरिएको हो ।
निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरूवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार कार्यालयले उच्च घनत्व (हाइडेन्सिटी) प्रविधिमा आधारित स्याउका बिरूवा वितरण गरिएको छ ।
कृषकलाई जोनाप्रिन्स चार हजार पाँच सय ५०, गाला चार हजार पाँच सय ३०, फुजी दुई हजार दुई सय ५०, रेड डेलिसियस एक हजार चार सय ३० र गोल्डेन डेलिसियस सात सय ८० प्रजातिका बिरुवा वितरण गरिएको प्रमुख सिलवालले बताए ।
इटालीबाट मनाङसम्म ल्याउँदा प्रतिबिरूवाको एक हजार ७९ परेकोमा किसानलाई प्रतिबिरूवा दुई सय ६९ मा वितरण गरिएको छ । कार्यालयका अनुसार इटालीबाट ल्याइएका स्याउका बिरूवा कृषि फार्म, कृषक, कृषि कम्पनीलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको छ ।
बढी स्याउ उत्पादन हुने ङिस्याङ गाउँपालिकाका किसानलाई ११ हजार आठ सय ४०, नासों गाउँपालिकामा एक हजार पाँच सय ७० र चामे गाउँपालिकामा एक सय ३० बिरूवा वितरण गरिएको हो ।
पछिल्लो समय मनाङमा जनघतत्व प्रविधिको स्याउ खेतीमा किसानको आकर्षण बढ्दो रहेको प्रमुख सिलवालले बताए । ङिस्याङ-१ भ्राताङस्थित एग्रो मनाङ प्रालिले नेपालमै पहिलो पटक हाइडेन्सिटी प्रविधिका स्याउका बिरूवा ल्याएको उनको भनाइ छ ।
यसले गर्दा यस प्रविधिको खेतीमा किसानको आकर्षण बढ्न थालेको छ । मनाङमा मात्रै नभएर मुस्ताङ, जुम्ला, सोलखुम्बु, गोरखा, कालीकोट, मुगुलगायत जिल्लामा हाइडेन्सिटी प्रविधिको स्याउ खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
हाइडेन्सिटी स्याउका बिरूवा विदेशबाट ल्याउँदा महँगो पर्ने र विभिन्न रोग भित्रिन सक्ने सम्भाव्यतालाई दृष्टिगत गरी नेपालमै यस प्रविधिका स्याउका बिरूवा उत्पादन गर्न सकिए किसानलाई मात्रै नभएर देशकै लागि फाइदाजनक हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij