Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

धनुषाका पाँच स्थानीय तहले बजेट ल्याउन सकेनन् 

धनुषाका पाँच स्थानीय तहले बजेट ल्याउन सकेनन् 

  • 181
    SHARES
  • धनुषाका पाँच स्थानीय तहले बजेट ल्याउन सकेनन् 

    धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन ।

    यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् ।

    यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो । मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए । पटक-पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो ।

    ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्‍यौँ तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित हुनुभयो’, प्रमुख महतोले भने, ‘बुँदागतरूपमा उहाँहरूले हालसम्म कुनै माग पनि राख्नुभएको छैन । खै के हो ? उहाँहरूसँगै बुझ्नुस् ।’

    यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाइएन । यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए ।

    कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको भन्ने जिज्ञासामा उनले सोही कुरा दोहोर्‍याएर फोन राखे । यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।

    कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन । उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताइन् । जनप्रतिनिधिहरूको विगतकै माग पूरा नभएका कारण बजेट नआएको उनले जानकारी दिइन् ।

    यसअघि उपप्रमुख मण्डलले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै जनकपुर उच्च अदालतमा उजुरी नै गरेका थिए । नगरप्रमुख विशेश्वर यादवसँग सुरुआती समयदेखि उनको मनमुटाव थियो ।

    सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधिहरू नगर प्रमुखसँग असन्तुष्ट छन । नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए ।

    सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ थियो तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको जनाइन् । योजना तर्जुमा भए पनि अन्य विषयको छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ थियो ।

    ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरूसँग पनि छलफल गर्न बाँकी छ । उपप्रमुख सिंहले योजना बाँडफाँटतर्फ संकेत गर्दै भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौं ।’

    यस्तै औरही गाउँपालिकाका अध्यक्ष उमाशंखरप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरू अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij