वेबटिभी खबर
रसुवा । धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । बेथा लागेर पनि सहजरूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका-५ टेचाङ्ते निवासी एक महिलालाई जिल्ला अस्पतालले गएराति शल्यक्रियाबाट बच्चा निकालेको थियो ।
यो शल्यक्रियाले जिल्लामा पहिलो रेकर्ड कायम गरेको छ । सुत्केरीको नाम भने उल्लेख नगर्न अस्पतालले आग्रह गरेको छ । जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो ।
दाता एवम् जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए ।
‘निक साइमन्स’ले गरेको सहयोग रसुवावासीका लागि हितकारी भएको र यो सेवालाई निरन्तरता दिइने बताइएको छ । दक्ष चिकित्सकका साथै दुई स्टाफ नर्स, एक ल्याप टेक्निसन एवम् एक रेडियो ग्राफरसमेत उक्त संस्थाले उपलव्ध गराउनाका साथै सहयोग पनि गरिरहेको छ ।
पन्ध्र शय्या क्षमताको उक्त अस्पतालमा निक साइमन्सले शल्यक्रियाका लागि नियमित एक दक्षचिकित्सक खटाएका कारण शल्यक्रिया गर्न सफल भएको बताइएको छ । सुत्केरी बेथाले छट्पटिएकी ती महिलालाई अस्पताल पुर्याउनासाथ तत्काल परीक्षण गरी चिकित्सक टोलीले शल्यक्रिया गर्नुपर्ने निचोड निकालेको थियो ।
डा.रञ्जितराज पाठकसहितको चिकित्सक समूहले पूर्वतयारीको समय बाहेक ४५ मिनेटमा पेटको बच्चा निकालेको मेडिकल सुपरिटेन्डेन्ट शाहले जानकारी दिए । जन्मेका नवजात शिशुको तौल साडे तीन केजी रहेको र आमा तथा बच्चा दुवैको स्वस्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।
यसअघि प्रसूतिका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा काठमाडौं ल्याउन सरकारले एयर एम्बुलेन्स (हेलिकप्टर) उपलब्ध गराउने गरे पनि उपचार एवम् शल्यक्रियाका लागि धेरै रकम लाग्ने गरेकामा अब सो समस्या अस्पतालले समाधान गरेपछि एयर एम्बुलेन्सका लागि खर्चहुने रकम राज्य कोषमै सुरक्षित रहने र अर्को उपचारमा हुने व्यक्तिगत खर्चसमेत बचत हुँदा हिमाली ग्रामीण बासिन्दालाई ठूलो राहत मिलेको सुत्केरीकी आमा डोल्माले बताइन् ।
सहजरूपले सुत्केरी हुन नसकेका महिलालाई स्थानीयस्तरमा गरिएको शल्यक्रिया यस हिमाली जिल्लाका ग्रामीण बासिन्दालाई हितकारी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । विगतको तुलनामा यस अस्पतालको सेवामा निकै सुधार भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहको भनाइ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij