वेबटिभी खबर
जेनेभा । सामान्यतया जब दुई नेताको भेट हुन्छ, प्राय उनीहरुको शारीरिक लवज पढ्न र बुझ्न प्रयास गरिन्छ । भेटका क्रममा उनीहरुले देखाउने शारीरिक लवजका आधारमा कहिलेकाँही धेरै अनुमानसमेत लगाउन सकिने स्थिति हुन्छ ।
यही क्रममा केही समयदेखि सम्बन्ध बिग्रिएका रुस र अमेरिकाका राष्ट्रपतिहरुको स्वीट्जरल्यान्डकाे जेनेभामा भेट हुँदा पनि सबैले दुवै नेताहरुको भावभंगीमातर्फ ध्यान दिइरहेका थिए । भेटका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लाद्मिर पुटिनतर्फ सुरुमा हात बढाएपछि पुटिनले पनि हात मिलाउन अघि सरे र दुवै एकअर्काको आँखामा हेरेर अनि क्यामेरातर्फ फर्किए ।
रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनको बुधबार जेनेभामा भेट भएको छ र अब दुवै विस्तारै द्धिपक्षीय सम्बन्धका बारेमा वार्ता गर्नेछन् । वार्ता चार पाँच घण्टा चल्न सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय कुटनीतिका हिसाबबाट यो भेटतर्फ विश्वकै ध्यान केन्द्रित भएको छ ।
अमेरिकी राष्ट्रपति बनेपछि जो बाइडनको रुसी राष्ट्रपति पुटिनसँग पहिलो भेट हो । यी दुई नेताले विगत केही महिनादेखि एक अर्काविरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए ।
अमेरिकाले रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको, रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको, अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको लगायतका आरोप लगाउँदै आएको छ भने रुसले अमेरिकाले लगाएका सबै आरोप खण्डन गरिरहेको छ ।
पुटिनले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको स्पष्ट गरेका छन् ।
गम्भीर मतभेदका बीच पुटिन र बाइडेनबीच बहुप्रतिक्षित भेटवार्ता हुँदै
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij