Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

‘लम्पी स्किन’ का कारण चीज उद्योग बन्द

‘लम्पी स्किन’ का कारण चीज उद्योग बन्द

  • 258
    SHARES
  • ‘लम्पी स्किन’ का कारण चीज उद्योग बन्द

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार छ सय ६९ गाईगोरु र भैँसी बिरामी परेपछि यहाँ सञ्चालित चीज उद्योग बन्द गरिएको छ ।

    पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकामा यो रोग तीव्र रुपमा फैलिएको छ । गाई भैँसी बिरामी भएकाले यस क्षेत्रमा सञ्चालित हिमालयन चीज उद्योग बन्द गर्नुपरेको स्थानीय टेकबहादुर खड्काले बताए ।

    उनका अनुसार गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाइँ प्रभावित भएको छ । गाई बिरामी भएपछि घारमा सञ्चालित चीज उद्योग पनि बन्द भएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताए ।

    गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो समय मंगला गाउँपालिकामा एक वटा भैँसीमा पनि लम्पी स्कीन भेटिएको उनले जानकारी दिए ।

    केन्द्रको तथ्यांकअनुसार, बेनी नगरपालिकामा ८१, मंगला गाउँपालिकामा ५०, मालिकामा ४३, धवलागिरीमा एक सय ५४, रघुगंगामा चार सय ६१ र अन्नपूर्णमा आठ सय ८० पशुमा लम्की स्किन देखिएको छ ।

    लम्पी स्किनबाट बेनीमा नौ, मालिकामा चार, धवलागिरीमा चार, रघुगङ्गामा २९ र अन्नपूर्णमा ७४ पशु मरेका छन् ।

    १३ वटा बाच्छाबाच्छी, ३६ वटा गाई, ७१ वटा गोरु मरेका केन्द्रले जनाएको छ । म्याग्दीमा लम्पी स्किन देखिएकामध्ये ७.१९ प्रतिशत पशु मरेका छन् ।

    विसं २०७९ चैत १३ गते रघुगङ्गा गाउँपालिकामा पहिलो पटक यो रोग देखिएको थियो ।

    ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ ।

    प्रदेश सरकारबाट प्राप्त भएको लम्पी स्किनबाट बिरामी भएका पशुलाई खुवाउने एन्टिबायोटिक औषधि स्थानीय तहहरुलाई उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले बताए । 

  • सम्बन्धित विषय:

  • # उद्योग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij