वेबटिभी खबर
जेनेभा । रुसी राष्ट्रपति भ्लाद्मिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बुधबार जेनेभामा भेटवार्तापछि हतियार नियन्त्रण र साइबर सुरक्षाबारे थप वार्ता गर्नका साथै आफ्ना राजदूतहरुको पदबहाली गर्न सहमत भएपछि पुटिनले वार्ता रचनात्मक भएको बताएका छन् ।
बाइडेनले वार्तालाई सकारात्मक भनेका छन् । जनवरीमा राष्ट्रपति पद सम्हालेपछि बाइडेन र पुटिनबीचको पहिलो भेट हो । झन्डै तीन घण्टासम्म चलेको छलफलमा दुवै नेताबीच कुनै ठोस सहमति भने हुन सकेन् । वार्तापछि दुवैले एक अर्काको प्रशंसा गर्दै कुनै वैमनस्यता भएको महसुस नभएको वर्णन गरेका छन्।
पुटिनका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार लिएर आएका थिए । तर पुटिनले बाइडेनलाई के उपहार दिए वा दिएनन् त्यो खुलाइएको छैन् । सोही समयमा रूसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिको प्रशंसा गर्दै उनलाई एक अनुभवी राजनीतिज्ञ पनि भने ।
शिखर सम्मेलन हुनु अघि ठूलो सफलता हुन सक्ने अपेक्षा कम थियो तर मस्को र वाशिंगटन दुवै महत्वपूर्ण प्रगतिको सम्भावनामा खुसी थिए । यस जोडीमा हाल हतियार नियन्त्रण र साइबर सुरक्षादेखि निर्वाचन हस्तक्षेप र युक्रेनसम्मका विभिन्न मुद्दाहरूमा विवाद छ । छलफलपछि पत्रकारलाई सम्बोधन गर्दै पुटिनले बाइडेनले मानवअधिकारसम्बन्धी मुद्दा उठाएको स्वीकारे ।
साइबर सुरक्षाका विषयमा रुस सैद्धान्तिक रुपमा सहमत भएको छ तर यसलाई कार्यान्वयन गर्नुपर्नेमा बाइडेनले जोड दिएका छन् । पुटिनले भने साइबर सुरक्षा बारे रुस जिम्मेवार नभएको र यसको मुख्य स्रोत अमेरिका नै भएको प्रतिक्रिया दिए । केही समय अघि अमेरिकी इन्धन पाइपलाइनमा ह्याक गर्नेहरू रूसबाट संरक्षित समूह भएकाे अमेरिकाले भनिरहँदा रुसले अमेरिकालाई कथित साइबर हमलाको बारेमा विस्तृत जानकारी प्रदान गरिसकेको पनि अमेरिकाले यसको प्रतिक्रिया नजनाएको पुटिनले भने । यसबारेमा थप छलफल गर्न बाइडेन र पुटिन सहमत भएका छन् ।
अमेरिकाले उठाउँदै आएको अर्को मुद्दा रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीका बारेमा पुटिनले उनले पटकपटक कानुनको उल्लंघन गरेकाले जेल सजाय हुने बताए । नाभाल्नी अपराधिक गतिविधिमा संलग्न भएकाे र पक्राउ पर्नकै लागि जानेरै रूस फर्किएकाे पनि पुटिने बताए । तर नाभाल्नीकाे मृत्यु भएमा रूसले भयंकर परिणाम भाेग्नु पर्ने बाइडेनले भने ।
आणविक स्थिरताका बारेमा पनि दुवै नेताले छलफल गरेको र आउँदो समयमा हतियार नियन्त्रण सम्झौता संसाेधन गर्ने बारे छलफल गर्ने भएका छन् ।
दुवै नेताहरू आआफ्नो देशबाट निष्कासन भएका कूटनीतिज्ञहरुलाई फिर्ता ल्याउन सहमत भएका छन् । साथै युक्रेनलाई नेटो गठबन्धनमा ल्याउन पनि छलफल भएको छ ।
बाइडेनले पुटिनसँग प्रत्यक्ष भेटवार्तामा आफूले गर्नुपर्ने जति काम गरेको बताएका छन् । यसमा 'पहिलो, दुई देशले आफ्नो आपसी हित र विश्वको हितलाई ध्यानमा राखी अगाडि बढ्न सक्ने क्षेत्रहरू पहिचान गरेँ, दोस्रो, प्रत्यक्ष वार्ता र तेस्रो, आफ्ना देशका प्राथमिकता र मूल्यहरु स्पष्ट रुपमा प्रत्यक्ष उनको अगाडि राखेँ' बाइडेनले भने ।
स्वीट्जरल्यान्डमा पुटिन-बाइडेन भेट
गम्भीर मतभेदका बीच पुटिन र बाइडेनबीच बहुप्रतिक्षित भेटवार्ता हुँदै
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij