Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पढेर विदेश जानुभन्दा यहीँ अवसर छ : अध्यक्ष ओली

पढेर विदेश जानुभन्दा यहीँ अवसर छ : अध्यक्ष ओली

  • 218
    SHARES
  • पढेर विदेश जानुभन्दा यहीँ अवसर छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए ।

    विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उनले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताए ।

    उनले भने, ‘एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन ।’

    यहाँ जति अवसर विदेशमा नमिल्ने उनको भनाइ छ । पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै भन्ने भन्दै उनले पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताए ।

    नेपालको कृषिलाई आधुनिक तरीकाले गर्न सकिने भन्दै उनले देशलाई आवश्यक पर्ने खाद्यान्न आफौले उत्पादन गर्नुपर्ने बताए ।

    यहाँ उत्पादित वस्तु बिक्री नभएर सडकमा छरिने क्रम रोक्न प्रविधिको प्रयोगबाट उत्पादित वस्तुको सुरक्षित भण्डारण गर्न सक्नुपर्ने उनको भनाइ छ ।

    हरेक काममा सक्रियता भए मात्रै सफल हुने भन्दै उनले भने, ‘सक्रियता छ जीवन छ । सक्रियता छैन जीवन छैन ।’ कुन काम कसरी गर्ने र कसले गर्ने भन्ने विषय अध्ययन गरेर गर्न सके नेपालमानै स्थापित हुन सकिने उनको भनाइ छ ।

    वैदेशिक रोजगारमा गएर फर्कंदै गर्दासमेत यहाँ स्थापित हुन समय लाग्ने भन्दै यहाँ अहिलेदेखि काम गर्न सके राम्रो हुने उनले बताए ।

    कृषि व्यवसाय र कृषि उद्योगबाट सफल बन्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै युवा उद्यमी ससन देवकोटाले नेपालबाट ५० प्रतिशत दक्ष कामदार विदेश पलायन भएको बताए ।

    अध्ययन सकेर बसेका विद्यार्थी विदेश जाने तयारीमा रहेको भन्दै उनले कृषि क्षेत्रमा उद्यम गर्ने कार्यमा पाँच प्रतिशत मात्रै रहेको बताए ।

    पैँतालिस प्रतिशत युवा रोजगारमा रहेको सो अवसरमा जानकारी दिइएको थियो । कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालको २० प्रतिशत जमिन खेतीयोग्य रहेको छ ।

    सोमध्ये २५ प्रतिशत बाँझो रहेको छ भने ७५ प्रतिशतमा मात्रै खेती गरिएको छ । कृषि विषयमा अध्ययन गरेका सबै विद्यार्थी रोजगारीका लागि विदेशिने तयारीमा रहेको भन्दै देवकोटाले चिन्ता व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij