वेबटिभी खबर
कास्की । पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो ।
२०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्याइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गासमेत अतिक्रमणमा परेको छ । बर्सेनि बसपार्कको जमिन खुम्चिँदै गएको छ ।
पर्यटकीय शहर पोखरामा सुविधासम्पन्न बसपार्क नहुँदा सडकपेटीबाटै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्नुपर्ने बाध्यता छ भने बसपार्कका लागि तोकिएको क्षेत्रबाट समेत सवारी साधन छुटेका छैनन् ।
पृथ्वी होटल व्यवसायी समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बसपार्कभित्रबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएका छन । सडकमै बस पार्किङ गर्दा सडक अस्तव्यस्त र कुरुप भएकाले बस समितिले बसपार्कबाट गाडी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले सडकमा पार्किङ गरेर बस छुटाउँदा पृथ्वीचोक अस्तव्यस्त भएको बताए । पूर्वअध्यक्ष थकालीले भने, ‘लामो दूरीका गाडीसमेत सडकबाटै छुटाउँदा पृथ्वीचोकबाट चाइना पुलसम्म अस्तव्यस्त भएको छ । पृथ्वीचोकलाई व्यवस्थित गर्न बस बसपार्कबाटै छुट्नुपर्दछ । यसमा सरोकारवालाको ध्यान पुगोस् ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बस सञ्चालकको लोभका कारण बसपार्कबाट बस नछुटेको बताए । उनले सडकबाट गाडी छुटाउँदा ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सकस भएको जनाए ।
यात्रु तान्नका लागि बसहरू सडकमै पार्किङ गर्ने गरिएको उनको जिकिर छ । पाठकले भने, ‘यात्रु छोप्नका लागि सडकमै पार्किङ गर्ने गरिएको छ । बस बसपार्कभित्रै छिर्नुपर्दछ । बसपार्कभित्रका ग्यारेज हटाएर यसलाई अझै व्यवस्थित गर्नु आवश्यक छ ।’
यातायात व्यवसायी भानुभक्त बरालले बसपार्क सानो भएकाले बसपार्कबाट बस नछुटेको बताए । उनले पोखरा बसको ‘क्यू’ बसपार्क केन्द्रित नभइकन भ्याली केन्द्रित भएको जनाए । बरालले भने, ‘बसपार्क व्यवस्थित भयो भने बल्लमात्र बस बसपार्कबाट छुट्छन् ।’
पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कमा ग्राभेल हालेर व्यवस्थित गर्न सुरुआत गरिएको बताए । उनले व्यवस्थित बसपार्क निर्माणका लागि महानगरमा सबैले दबाब दिनु आवश्यक भएको जानकारी दिए ।
महानगरले समेत आगामी वर्ष बसर्पाकका लागि बजेट विनियोजन नगरेकामा अध्यक्ष मर्सानीले दुःखेसो पोखे । अध्यक्ष मर्सानीले भने, ‘वडाको बजेटले बसपार्क बनाउन सकिँदैन । महानगर, प्रदेश सरकार र संघीय सरकारलाई दबाब दिनु आवश्यक छ, बसपार्कका लागि आन्दोलन गर्न परे पनि अब पछि हट्नु हुँदैन ।’
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण न्यूरेले विभिन्न कारणले पोखराको मुख्य बसपार्क व्यवस्थित हुन नसके पनि अब राज्यलाई दबाब दिनुपर्ने बताए । अध्यक्ष न्यूरेले भने, ‘अहिले भएको बसपार्कलाई व्यवस्थित गरेर आगन्तुक पाहुनालाई सभ्य र सुरक्षित पोखराको महसुस गराउनुपर्दछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij