वेबटिभी खबर
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली पत्रकारिताले समाजलाई जागरुक र रूपान्तरण गर्दै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन ।
‘संसदीय मामिला पत्रकार समाज’का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सवल बनाउन लाग्नुपर्ने धारणा राखे ।
‘संसदलाई राष्ट्रहितमा लैजान सञ्चारक्षेत्रको भूमिका छ, सञ्चारमाध्यमबाट यसमा गति र प्रभाव दिने काम भएको छ’, सभामुख घिमिरेले भने । ‘संसदीय मामिला पत्रकार समाज’को जिम्मेवारी पत्रकारिता भए पनि संसद्को परिवार पनि भएको भन्दै उनले प्रतिस्पर्धाका आधारमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गरे ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्का गतिविधिलाई सिधैँ जनता समक्ष पुर्याउने काममा संलग्न समाजका पदाधिकारी संसद्का ऐनाकारूपमा रहेको बताए ।
संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले समाजले उठाउँदै आएको ‘लवी रिपोटिङ’का लागि गृहकार्य भइरहेको तथा संसद् र ससदीय गतिविधिका सुधारका लागि हुने आलोचनात्मक टिप्पणीलाई स्वागत गरिने जनाए ।
समाजको आठौँ अधिवेशन निर्वाचत समितिका संयोजक टंक पन्तले प्रतिस्पर्धाकाबीच एकताको भावनाले स्वच्छ निर्वाचन भई नेतृत्व हस्तान्तरण भएको बताए ।
समाजका निवर्तमान अध्यक्ष सञ्जीव बगाले र नवनिर्वाचित अध्यक्ष मनोज सत्यालले अघिल्लो कार्यसमितिबाट भएका असल अभ्यासलाई ग्रहण गर्दै अनुसन्धान र समाजलाई समावेशी तुल्याउने कार्यमा ध्यान पुर्याउने प्रतिबद्धता जनाए ।
ससदीय गतिविधिसम्बन्धी समाचारलाई मुख्य ‘विट’ बनाएर काम गर्ने पत्रकारको साझा संस्थाकारूपमा मामिला रही आएको छ । दैनिक रिपोटिङका सन्दर्भमा आइपर्ने समस्या समाधानका लागि समाजले सचिवालयसँग सम्पर्क र समन्वय गर्दै आएको छ ।
यही असार १६ गते सम्पन्न निर्वाचनबाट पत्रकार सत्यालको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समाजमा हाल एक सय ४५ सदस्य रहेका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij