Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

२० हजार मात्रा (एचपिभी) खोप ल्याइयो

२० हजार मात्रा (एचपिभी) खोप ल्याइयो

  • 253
    SHARES
  • २० हजार मात्रा (एचपिभी) खोप ल्याइयो

    काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो ।

    परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए । उनले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिइने जानकारी दिए ।

    उनले खोप कुन कुन जिल्लाका दिने भनेर निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने र सोही अनुसार किशोरीलाई खोप लगाइने बताए । उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ । सरकारले चीनबाट पहिलो पटक सो खोप खरिद गरेर ल्याएको हो ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले दुर्गम क्षेत्रका महिलालाई खोपले क्यान्सर हुनबाट बचाउने बताए ।

    उनले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार दिनमा ६ महिलाको मृत्यु हुने गरेको जानकारी दिए ।

    ‘अस्पतालमा आउनेमा दैनिक ६ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ’, डा.शाहीले भने, ‘अझ गाउँघरमा यस क्यान्सरको रोगका कारणले कतिको मृत्यु हुन्छन् भन्ने तथ्यांक छैन ।’

    क्यान्सर रोग विशेषज्ञ डा.शाहीका अनुसार वर्षमा करिब दुई हजार ५०० महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने गरेको छ । उनले असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij