वेबटिभी खबर
रसुवा । उत्तरी रसुवाको भू-भागमा समेत डेंगुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमितकुमार शाहले एकजना डेंगुका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।
समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेंगु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेंगु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनुपर्ने बताए ।
उनले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गरे ।
यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।
सो ओपिडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरे । अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौं रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ ।
यसबाट विशेषगरी प्रसुती सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij