वेबटिभी खबर
चितवन । वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो ।
कालिका नगरपालिका-१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका-७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका-११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो ।
पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा-एउटा पोखरी निर्माण गरिएको छ ।
केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए ।
वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनले बताए । भरतपुर महानगरपालिका-२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताए ।
यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ । वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिए ।
उनका अनुसार इच्छाकामना गाउँपालिका-७ को सोमरी सामुदायिक वन, राप्ती-७ को बागदेवी सामुदायिक वन, राप्ती-१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका-८ को देवीढुंगा सामुदायिक वन, कालिका-८ कै मङ्गलादेवी सामुदायिक वन, भरतपुर-१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका-५ को भीमवली सामुदायिक वन र कालिका-२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ ।
पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले ३१ लाख खर्च गरेको छ । यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ ।
याँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको उनले बताए । डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३ सामुदायिक वन रहेका छन् ।
यी वनमा साना ठूला वन्यजन्तु छन् । बाघ, गैँडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन् ।
चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङ सुक्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताए ।
चर्तुमुखी वनमा तीन पोखरी निर्माण गरिएको छ । दुई प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ भने एउटा पोखरीमा सोलारसहितको बोरिङ खनिएको छ ।
उनले पोखरी संरक्षणका लागि सामुदायिक वनले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गरेर काम गर्ने गरेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij