काठमाडौं । गण्डकी प्रदेशमा प्रखुम प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कुनै पनि हालतमा विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त पोखरेलले विश्वासको मत लिन राखेको प्रस्ताव माथिको छलफलमा भाग लिँदै विपक्षी दल एमालेका सांसदहरूले यस्तो बताएका हुन् ।
प्रदेशसभामा बोल्दै एमालेका सांसद मनबहादुर गुरुङले जनमत परास्त गर्न बनेको प्रदेश सरकारलाई आफूहरूले विश्वासको मत नदिने खुलाए ।गण्डकीका मतदाताले ५ वर्षका लागि कम्युनिस्टलाई सरकार चलाउन दिए पनि जनमत परास्त गर्न अपवित्र गठबन्धनमार्फत बनेको सरकारलाई विश्वासको मत दिन नसकिने सांसद गुरुङले बताए ।
उनले सरकारले ल्याएको बजेट बकम्फुसे पाराको भएको आरोप समेत लगाए । एमालेकै सांसद धनञ्जय दवाडीले प्रदेशको अहिलेको सरकार दीगो नभएकाले विश्वासको मत दिन नसक्ने बताए । विपक्षी गठबन्धनले जबरजस्ती पोखरेललाई मुख्यमन्त्री बनाएर जे जस्ता कार्य गर्न पनि उपयुक्त हुन्छ भन्ने अहमता देखाएको टिप्पणी गरे ।
संघीयता खारेज गर्ने र जनताप्रति जवाफदेही हुनै नसक्ने दलहरुले गठबन्धन बनाएरै गण्डकीम एमालेको सरकार ढालेको आरोप लगाए । एमालेका सांसद कृष्ण थापाले दिपक मनाङेप्रति संकेत गर्दै गुण्डागर्दीलाई प्रश्रय दिने सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने बताए ।
तर एमालेका सांसदले मत नदिए पनि मुख्यमन्त्रीमा पोखरेल सुरक्षित छन् । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र १ जना स्वतन्त्र गरी पोखरेललाई ३२ जना सांसदको समर्थन छ । मुख्यमन्त्रीमा बहुमत पुर्याउन ३१ सांसदको समर्थन आवश्क पर्छ । गण्डकीमा एमालेसँग २७ सांसद छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology