Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आधुनिक नेपाली समालोचनाको पृष्ठभूमि

आधुनिक नेपाली समालोचनाको पृष्ठभूमि

  • 4.4K
    SHARES
  • आधुनिक नेपाली समालोचनाको पृष्ठभूमि

    परिचय   
    कुनै वस्तु र विषयको गुण-दोष एवम् उपयुक्तताको विवेचनलाई समालोचना भनिन्छ । साहित्यमा कृतिको गुण-दोषको विवेचना नै समालोचना हो । कृतिको मूल्य र महत्त्वलाई स्पष्ट पारेर बोधगम्य बनाउनुका साथै कृतिकारको मूल्याङ्कनसमेत समालोचनाले गर्छ । नेपाली आधुनिक  समालोचनाको आरम्भ सूर्यविक्रम ज्ञवालीको 'नैवेद्य समालोचना' बाट भएको हो । यस परम्परा वि.सं. १९७९-२०२० सम्म कायम रहेको छ । यस परम्पराको पृष्ठभूमिमा मोतीराम भट्ट, बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, रत्नध्वज जोशी रामकृष्ण शर्मा, यदुनाथ खनाल, लक्ष्मीप्रसाद देवकोटा आदि समालोचकहरू देखा पर्दछन् । यी समालोचकहरूले साहित्यको सिर्जनात्मकलाई आधुनिक चेतको उपज स्विकारेर समालोचनाको दिशा निर्धारण गरे । यस परम्परामा सिर्जनात्मक विधाका आख्यान, नाटक, निबन्ध र कविताका माध्ययमबाट स्थापित भएको आधुनिकतालाई समालोचकहरूले मूल्य निर्धारण गर्ने कार्य पनि गरे । शोधपरक समालोचना, सौन्दर्यशास्त्रीय समालोचना, कृति मूल्याङ्कनपरक समालोचना, वैचारिक तथा प्रवृत्तिपरक समालोचना, सिद्धान्तमुलक समालोचना, प्रभावपरक समालोचना आदि प्रवृत्तिहरू देखा परे । यिनै प्रवृत्तिका आधारमा आधुनिक समालोचनाको पृष्ठभूमि आरम्भ भएको छ । विभिन्न चरण पार गर्दै आएको आधुनिक नेपाली समालोचनाको पृष्ठभूमि लामो रहेको छ । यस आलेखमा सोही पृष्ठभूमि खोतल्ने कोसिस गरिएको छ ।  

    images

    आधुनिक नेपाली समालोचना 

    नेपाली साहित्यको माध्यामिक काल (वि.सं. १९४०-२०७४) मा नेपाली समालोचनाको थालनी भएको हो । वि.सं. १९४८ मा मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनचरित्र लेखेपछि नेपाली साहित्यमा समालोचनाको प्रारम्भ' (प्रधान २०५८:८) भयो । घनश्याम कँडेलद्वारा सम्पादित पुस्तक नेपाली समालोचनामा वि.सं. १९४८-१९९८ को समयवधीलाई प्रथम चरण मानिएको छ । वि.सं. १९९९-२००६, वि.सं. २००७-२०२४ क्रमशः द्वितीय र तृतीय चरण देखाइएको छ । त्यस्तै वि.सं. २०२५ देखि हालसम्मलाई चतुर्थ चरण तथा आधुनिक काल मानिएको छ । यसरी उक्त पुस्तकमा नेपाली समालोचनाको विकास चार चरणमा देखाइएको छ ।

    त्यसैगरी कृष्णचन्द्रसिंह प्रधानद्वारा सम्पादित पुस्तक साझा समालोचनामा तीन चरण देखाइएको छ । वि.सं. १९४८-१९९८ प्रथम, वि.सं. १९९९-२००६ द्वितीय र २००७ देखि वर्तमानसम्मलाई तृतीय तथा आधुनिक काल मानिएको छ । यसरी हेर्दा नेपाली समालोचनाको विकासको चरण विभाजनमा एक मत देखिदैन । माथि उल्लेख गरिएको तथ्यहरूको आधारमा आधुनिक नेपाली समालोचनाको प्रारम्भ २००७ सालदेखि भएको छ । यस चरणमा  ईश्वर बराल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा जस्ता समालोचकहरूको विशेष योगदान रहेको पाइन्छ । 'यस चरणका अन्य समालोचकहरूमा सोमनाथ सिग्द्याल, बालचन्द्र शर्मा, चूडानाथ भट्टराय, डिल्लीराम तिम्सिना, माधवलाल कर्माचार्य, डी.पी. अधिकारी, श्यामप्रसाद शर्मा, कमल दीक्षित, सरिता ढकाल, यज्ञराज सत्याल, माधव भँडारी, आनन्ददेव भट्ट' (कँडेल, २०५५: ड) आदि उलेख्य छन् ।

    वि.सं. २०२५ देखि हालसम्मको समयावधिलाई आधुनिक नेपाली समालोचनाको चौथो चरणका रूपमा लिइन्छ । यस चरणमा पनि तृतीय चरणका ईश्वर बराल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा जस्ता समालोचकहरूको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ । यिनबाहेक 'इन्द्रबहादुर राई, केशवप्रसाद उपाध्याय, गोविन्द भट्ट, ठाकुर पराजुली, मोहनराज शर्मा, वासुदेव त्रिपाठी, दयाराम श्रेष्ठ' (कँडेल, २०५५: ढ-ण) आदि लेखकहरू उच्च स्तरका समालोचकमा गनिन्छन् ।

    त्यसैगरी यस चरणका अरू समालोचकहरूमा 'शरच्चन्द्र शर्मा भट्टराई, मोहन हिमांशु थापा, भानुभक्त पोखरेल, चूडामणि बन्धु, गोपीकृष्ण शर्मा, वासु रिमाल यात्री, कुमारबहादुर जोशी, रामलाल अधिकारी,मुरारिप्रसाद रेग्मी, अभि सुवेदी, घटराज भट्टराई, घनश्याम कँडेल, राजेन्द्र सुवेदी, नरेन्द्र चापागाईँ, कृष्ण गौतम, रविलाल अधिकारी, ऋषिराज बराल' (कँडेल, २०५५:त-थ) आदिको नाम लिन सकिन्छ । आजसम्मको इतिहासलाई हेर्दा यस चरणमा अन्य थुप्रै समालोचकहरू नेपाली समालोचनालाई अग्रगति दिने कार्यमा सक्रिय देखिएका छन् ।

    यस अवधिमा प्रगतिवादी समालोचनाको अधिक विकास भएको पाइन्छ । त्यसबाहेक शोधपरक समालोचना, भाषाशैलीवैज्ञानिक समालोचना, रूपपरक समालोचना, पाठपरक समालोचना, मनोविश्लेषणपरक समालोचना, बहुलतापरक समालोचनाका साथै सैद्धान्तिक समालोचनाको पनि विकास भएको पाइन्छ । 

     आधुनिक नेपाली समालोचनाका विशेषता निम्न अनुसार छन्:

    शोधखोजपरक समालोचना 

    शोधखोजपरक समालोचना आधुनिक समालोचनाको एउटा रूप हो । घनश्याम कँडेलले सूर्यविक्रम ज्ञवालीको नैवेद्य समालोचनालाई यस धारको प्रथम आधुनिक समालोचना भनेका छन् । (कँडेल, २०५५: ज) । नेपाली समालोचनाको यस ठाउँसम्म आइपुग्नुभन्दा पहिले शोधखोजपरक समालोचना गर्ने समालोचकहरूमा मोतीराम भट्ट, बाबुराम आचार्य हुन् । मोतीराम भट्टले वि. सं. १९४८ मा भानुभक्त आचार्यको जीवनचरित्र लेखेपछि यो परम्परा सुरु हुन्छ । खोज अन्वेषणका समालोचनाहरू भाषा, साहित्य, कला, संस्कृति, लोकसाहित्य आदिका क्षेत्रमा पनि विस्तारित भए । समाजका नेपथ्यमा रहेका सामग्रीहरूलाई अन्वेषण, सम्पादन र समीक्षण गर्ने परम्परा आरम्भ भयो । 'समालोचनाको सिद्धान्तगत, विषयगत र आयामगत नवीनताको खोजी पनि यसै परम्परादेखि लेखकहरूमा आवश्यकता बोध भयो । भाषा र साहित्यको अन्वेषण श्रृङ्खलालाई आधाशिला प्रदान गर्ने बाबुराम आचार्य नेपाली समालोचना क्षेत्रमा शोधखोज परम्परा कायम गर्ने आधिकारीक व्यक्ति हुन् । जसले पुराना नेपाली कविताको कालक्रमिक अध्ययन गर्दै समालोचनाको मूल्याङ्कन गरेका थिए । आचार्यद्वारा पुराना कवि र कविता (२००३) उनको गहिरो अनुसन्धानको परिणाम हो ।' (सुवेदी, २०६८ :१०४-१२७) समग्रमा प्रस्तुत समालोचकीय विशेषता आधुनिक नेपाली समालोचनाको उठानलाई टेवा दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

    सौन्दर्यशास्त्रीय समालोचना 

    सौन्दर्यशास्त्रीय समालोचना आधुनिक समालोचनाको एउटा रूप हो । राजेन्द्र सुवेदीले यदुनाथ खनालको समालोचना सिद्धान्त लाई सौन्दर्यशास्त्रीय समालोचनाको प्रथम आधुनिक समालोचना भनेका छन् । नेपाली समालोचनाको यस ठाउँसम्म आइपुग्नुभन्दा पहिले बाबुराम आचार्यको पुराना कवि र कविताको भूमिकालाई लिन सकिन्छ । जहाँ साहित्य सिद्धान्तका लक्षण र शास्त्रीय आधार स्थापना गर्ने परम्परा सुरु भयो । 'शास्त्रीय दृष्टिले नेपाली साहित्यमा पूर्वीय संस्कृत साहित्य सिद्धान्तको र पाश्चात्य ग्रिसेली तथा ल्याटिन र अंग्रेजी साहित्य सिद्धान्तको प्रभावमा अन्वेषण गर्ने परम्परा समीक्षा मानक मूल्य भएर यसै समयमा देखा परे । यदुनाथ खनाल र सोमनाथ सिग्द्यालमा समालोचना सिद्धान्तको समीक्षा मानक पक्षहरूका र प्रमाणीकरणका प्रसङ्गहरूले स्थापित गर्ने कोसिस गरेका छन् । यिनै तथ्यहरूमा समक्षाको सैद्धान्तिक अध्ययन स्थितिकरण भएका कारण समालोचनाका यी दुई मूल्यहरू आरम्भ भएका हुन्' (सुवेदी, २०६८:१२७) । यसरी अध्ययन, अन्वेषण र समीक्षाका आधारमा आधुनिक नेपाली समालोचनाको जग छुट्टै रूपमा कायम गरेको पाइन्छ । 

    कृति मूल्याङ्कनपरक समालोचना

    कृति मूल्याङ्कनपरक समालोचना आधुनिक समालोचनाको एउटा रूप हो । नेपाली समालोचनालाई आधुनिकतातर्फ लैजान रामकृष्ण शर्मा र यदुनाथ  खनाल जस्ता समालोचकले यस परम्पराको थालनी गरेको भए पनि आधुनिक नेपाली समालोचनाको पृष्ठभूमिमा नै उक्त लेखिएको पाइन्छ । कवि धरणीधर कोइरालाका नैवेद्य कवितासंङ्ग्रहमाथि नैवेद्य समालोचना (१९७९) मा सूर्यविक्रम ज्ञवालीले लेखे । त्यस्तै रत्नध्वज जोशीले ऋतुविचारलेखनाथ लेखे । जुन कृति मूल्याङ्कनपरक समालोचना हो । रामकृष्ण शर्मा र यदुनाथ  खनाल यी दुई समालोचकले 'नेपाली समालोचनामा पाश्चात्य प्रभावलाई भित्र्याउने, केही मात्रामा प्रभाववादी भए पनि आफ्ना भनाइलाई तार्किक-बौद्धिक रूपमा प्रस्तुत गर्ने, कृति र कृतिकारका गुणदोषकाबारे निर्भिक भएर निर्णय दिने स्पष्टवादी समालोचक' (कँडेल, २०५५:झ) का रूपमा उनीहरू देखिन्छन् । उनीहरू नीतिपरक होइन सौन्दर्यपरक दृष्टिले कृतिलाई केलाउन मन पराउँछने भन्ने कुरा सूक्तिसिन्धुमा गरेको समालोचकीय धारणाबाट स्पष्ट हुन्छ । 

    वैचारिक तथा प्रवृत्तिपरक समालोचना

    वैचारिक तथा प्रवृत्तिपरक समालोचना आधुनिक नेपाली समालोचनाको अर्को रूप हो । राजेन्द्र सुवेदीले हृदय चन्द्रसिंह प्रधानलाई यस परम्पराको प्रथम समालोचक भनेका छन् । (सुवेदी, २०६८:१२७) । प्रधानका समालोचना गहन एवम् चिन्तनमा आधारित हुने कुरा घनश्याम कँडेलले बताएका छन् । यस परम्पराका अन्य समालोचकहरूमा रामकृष्ण शर्मा, ईश्वर बराल, कृष्णचन्द्रसिंह प्रधान र तारानाथ शर्मा पनि देखिन्छन् । 'ईश्वर बरालको २००६ सालमा उनको संकलन तथा सम्पादनमा झ्यालबाट कथासङ्ग्रह प्रकाशित भएको हो । यसमा उनको समालोचनात्मक प्रवृत्ति र विशेषताको पहिचान स्पष्ट रूपमा देखा परेको छ' (कँडेल, २०५५: ट) । त्यस्तै कृष्णचन्द्रसिंह प्रधान अर्का महत्वपूर्ण समालोचक हुन् । उनी सैद्धान्तिक सचेताका साथ प्रगतीवादी समालोचनाको सुरुवाद गर्ने समालोचक हुन् । 'तारानाथ शर्मा सुरुमा माक्सवादी साहित्यसिद्धान्तबाट प्रभावित शर्मा रामकृष्ण शर्माजस्तै निर्भिक र स्पष्टवादी समालोचकका रूपमा प्रसिद्ध छन् । उनका समालोचनामा पाश्चात्य साहित्यका अध्ययनको स्पष्ट छाप देखिन्छ । उनी कृतिको व्याख्या, विश्लेषणका साथै निर्भिक भएर मूल्याङ्कन गर्ने र निर्णय दिने पनि गर्दछन् । समाजलाई सङ्गठन र वर्गीय संरचनाका आधारमा विश्लेषण गर्ने माक्सवादी चिन्तन परम्पराको प्रवेश हुन लागेको यस परम्परामा साहित्य सिर्जना दृष्टिमा पनि माक्सवादी धारणा प्रविष्ट भएको छनक मिल्दछ' (सुवेदी, २०६८:१२७) । यस किसिमको चिन्तनलाई दार्शनिक आधार दिएर निरूपण गर्ने सिद्धान्त आधुनिक नेपाली समालोचनाको पृष्ठभूमिमा देखा परेको छ । समाजपरक समालोचना चिन्तन यस धारको प्रमुख पहिचान हो ।  

    सिद्धान्तमुलक समालोचना 

    सिद्धान्तमुलक समालोचना आधुनिक समालोचनाको एउटा रूप हो । घनश्याम कँडेलले सोमनाथ सिग्द्यालको साहित्य प्रदीप लाई यस धारको प्रथम आधुनिक समालोचना भनेका छन् । सिग्द्यालको यस ग्रन्थमा पूर्वीय साहित्यका कविता सम्बन्धी सिद्धान्तको विद्वतापूर्ण चर्चा गरिएको छ । (कँडेल, २०५५: ड) । नेपाली समालोचनाको यस ठाउँसम्म आइपुग्नुभन्दा पहिले सिद्धान्तमुलक समालोचना गर्ने समालोचकहरूमा बालचन्द्र शर्मा, चूडानाथ भट्टराय आदि हुन् । 'बालचन्द्र शमा ऐतिहासिक सचेतताका साथ समालोचना गर्ने समालोचक हुन् । त्यस्तै चूडानाथ भट्टरायको समालोचना मूलतः पूर्वीय साहित्यशास्त्रमा नै आधारित छन् । तरूणतपसी मिमांसा र कवि, कविता र कविताको सिद्धान्त लेखेका छन् । यसमा उनी सौद्धान्तिक तथा व्यवहारिक दुवै प्रकृतिका समालोचना लेख्ने समालोचकका रूपमा देखिएका छन् ' (कँडेल, २०५५:ड) । यसरी पूर्वीय साहित्य सिद्धान्तका साथै पाश्चात्य साहित्य सिद्धान्तको पनि गहन अध्ययन गरेर तिनका प्रभावमा समालोचना गर्ने प्रवृत्तिको पनि विकास भएको देखिन्छ । 

    प्रभावपरक समालोचना 

    प्रभावपरक समालोचना आधुनिक नेपाली समालोचनाको एउटा रूप हो । मोतीराम भट्टले कवि भानुभक्त आचार्यको जीवनचरित्र लेखेर यस समालोचनाको सुरुवात गरेको घनश्याम कँडेलले नेपाली समालोचना पुस्तकमा उल्लेख गरेका छन् । उक्त समालोचना मूलतः प्रभावपरक, प्रशंसापरक हुनुका साथै भानुभक्तका कविव्यक्तित्त्वको गुणगान बढी गरिएको छ । यस परम्परामा देखिएका अन्य समालोचकहरूमा नरदेव पाण्डे, कुलचन्द्र गौतम, शम्भुप्रसाद ढुङ्ग्याल, दीनानाथ सापकोटा, रघुनाथ भट्ट, नरेन्द्रमणि दीक्षित आदि देखा पर्दछन् । 'समालोचक कुलचन्द्र गौतमले १९७८ सालमा अलङ्कार चन्द्रोदय अलङ्कारका लक्षण र उदाहरणद्वारा चन्द्रशमशेरको गुणगान गरे । त्यसैगरी शम्भुप्रसाद ढुङ्ग्यालको कविताको फल (१९७६), दीनानाथ सापकोटा र रघुनाथ भट्टको रामायण सुन्दराकाण्ड को सम्पादनका क्रममा लेखिएको समालोचकीय भूमिका लगायत नरदेव पाण्डेको कविवर मोतीराम भट्टको जीवनी (१९९५) समालोचकहरू पनि प्रभावपरक समालोचनाको रूपमा देखा परेका छन्' (कँडेल, २०५५: झ) । यसरी प्रभानवपरक समालोचना लेखन आधुनिक समालोचनाको पृष्ठभूमिको उत्तरार्धसम्ममा पनि देखा परेको छ । 

    आधुनिक नेपाली समालोचनाको पृष्ठभूमिलाई हेर्दा नेपाली समालोचनालाई निक्कै गहन, ओजस्वी र जिम्मेवार बनाएको छ । यसरी आधुनिक नेपाली समालोचनासम्म आइपुग्दा प्रगतिवादी समालोचनाको अधिक विकास भएको पाइन्छ । साहित्यका इतिहासलाई कालखण्ड निर्धारण गर्ने प्रयत्न र भाषा, साहित्य, कला, संस्कृतिका मूल्यहरूको पनि दिशा निर्धारण गर्ने प्रयत्न आधुनिक नेपाली समालोचनाको पृष्ठभूमिमा भएको  देखिन्छ । शोधखोजपरक समालोचना, सौन्दर्यशास्त्रीय समालोचना, कृति मूल्याङ्कनपरक समालोचना, वैचारिक तथा प्रवृत्तिपरक समालोचना, सिद्धान्तमुलक समालोचना, प्रभावपरक समालोचना आदि प्रवृत्तिका आधारमा विभाजित भएर समालोचनाले आधुनिक स्वरूप ग्रहण गरेको देखिन्छ ।

    सन्दर्भ सामग्री

    कँडेल, घनश्याम (२०५५). नेपाली समालोचना (सम्पा), ललितपुर: साझा प्रकाशन । 
    प्रधान, कृष्णचन्द्रसिंह (२०५८). साझा समालोचना (सम्पा), ललितपुर: साझा प्रकाशन । 
    सुवेदी, राजेन्द्र (२०६८). नेपाली समालोचना: परम्परा र प्रवृत्ति, काठमाडौँ: पाठ्यसामग्री पसल । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology