Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तनहुँका आठ हजार पशुमा कृत्रिम गर्भाधान

तनहुँका आठ हजार पशुमा कृत्रिम गर्भाधान

  • 257
    SHARES
  • तनहुँका आठ हजार पशुमा कृत्रिम गर्भाधान

    तनहुँ । तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९/८० मा जिल्लामा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गरेको हो ।

    केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार तीन सय ५८ गाई, तीन हजार तीन सय ८८ भैँसी र एक सय ७० बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । गर्भाधान गरिएकामध्ये गाईमा ५५, भैँसीमा ५० र बाख्रामा ४० प्रतिशत सफल भएको डा.श्रेष्ठले जानकारी दिए ।

    जिल्लामा कूल नौ ठाउँमा कृत्रिम गर्भाधान केन्द्र रहेका छन । विगत वर्षभन्दा आव २०७९/८० मा कृत्रिम गर्भाधान १५.४५ प्रतिशतले वृद्धि भएको डा.श्रेष्ठको भनाइ छ । सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ ।

    पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा.श्रेष्ठले बताए ।

    कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् । साथै जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नुपर्दैन ।

    नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ । कार्यालयले सोही अवधिमा विभिन्न रोगबाट प्रभावित ११ हजार दुई सय ६० पशुलाई खोप लगाएको छ ।

    डा.श्रेष्ठका अनुसार १० हजार पाँच सय पशुलाई ‘लम्पी स्किन’विरुद्ध र सात सय ६० कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij