वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकामा १६ बैशाखदेखि निषेधाज्ञा भए पनि रातिराति राजधानीबाट बाहिरिनेका लागि सवारी चलिरहेकै थियो । कोरोनाको दोस्रो लहर क्रमशः कमजोर हुँदै गएका बेला केही दिनयता राजधानीबाट बाहिर जाने यात्रु लिन आएका सवारीलाई भने सुरक्षाकर्मीले रोकेका छन् ।
यात्रु ल्याउन नदिइ रित्तो बसलाई काठमाडौं आउन दिइएको थियो । काठमाडौंबाट मात्र यात्रु लैजान पाउने गरी राति ८ बजेदेखि बिहान ४ बजेसम्म चल्न दिएको एक चालक बताउँछन् । निषेधाज्ञाका कारण राजधानीमा टिक्न कठिन भएका सर्वसाधरणलाई घर जान सहज होस भनेर राज्यले पनि कडाई गरेको थिएन । यो पटक निषेधाज्ञा लाग्नु अघि नै घर जानका लागि दुई दिन समय दिइएको थियो ।
त्यसपछि पनि निषेधाज्ञा लम्बिएकाले घर जानुपर्नेलाई सहज हाेस भनेर रातिराति आउने बसहरुमाथि राज्यकाे नरम व्यवहार भइरह्यो । केही कम्पनीले सामाजिक सञ्जालमार्फत बस चल्ने सूचना नै जारी गरे । सोही अनुसार रित्तो बसलाई राजधानी आउन खुला भइरह्यो ।
तर, पछिल्लो पटक निषेधाज्ञालाई थप खुकुलो बनाएसँगै सवारीलाई रोकिएको चालकहरु बताउँछन् । 'निषेधाज्ञामा गाडि चल्न नहुने कुरामा हामी पनि सहमत छौं,' एक चालक भन्छन, 'तर, सर्लाहीदेखि नागढुंगासम्म आउन दिने अनि त्यहाँबाट गालीगलौज गरेर फर्काउने काम भयो । गाडि चल्न नदिने भएपछि त्यसैअनुसार कडाइ हुनुपर्छ । मनलाग्दा चलाउन दिने मन नलाग्दा रोक्ने गर्नु त भएन नि !' फेरि अहिलेसम्म चलाउन दिएर एक्कासी राेकिदिँदा चालक र सहचालक बाटाेमै अलपत्र परेकाे उनीहरूकाे भनाइ छ ।
उनले पथलैयामा प्रहरीले चिट नदिइ प्रति सवारी एकदेखि दुई हजार लिएर काठमाडौंका लागि जान दिने गरेको बताए । त्यसैगरी मकवानपुरको रातमाटेमा ट्राफिकले जरीवाना गरेर छाड्ने गरेको उनी बताउँछन् । निषेधाज्ञामा दैनिक सवारी चलेको ठाउँठाउँमा राखिएका सिसी क्यामेराबाट पनि थाहा हुने उल्लेख गर्दै उनले सुरक्षा निकाय सिस्टमबाट भन्दा सनकबाट चल्ने गरेकोमा दुखेसो पोखे ।
चालकहरुको गुनासो सुरक्षाकर्मीको व्यवहारप्रति छ । उनीहरुको प्रश्न छ-'कतै चिट काटेर पैसा लिने, कतै सुटुक्क पैसा लिएर छाड्ने अनि गन्तव्यमा चैं रोक्ने किन ? सुरक्षाकर्मीले प्रस्थान विन्दुमै रोकिदिएको भए हुने थियो ।' निषेधाज्ञाको पालना गराउन एउटै आदेशबाट चल्ने सुरक्षा संयन्त्रको व्यवहारबाट आफूहरु बिचल्लीमा परेको उनीहरुको गुनासो छ ।
लगातार चलाउन दिएकाले साेही अनुसार हाेला भनेर आइरहेकाे उल्लेख गर्दै उनीहरूले राेक्ने नै भए उद्गममै राेक्दा विदेशबाट डलरमा किनेर ल्याएकाे तेलकाे बचत हुने र त्यसले राज्यलाई नै फाइदा हुने बताए ।
चार दिनदेखि धादिङको सिमलेमा ३९ वटा बस, अरू गाडी महादेवबेशी र नौबिसेमा रोकिएका छन् । 'यसरी रोकिएका गाडि करिब २ सय वटा छन्,' सर्लाहीबाट चल्ने रात्री बसका एक चालकले भने, 'न घर जान सकिएको छ न काठमाडौं जान पाइएको छ । हाम्रो बिजोग भयो । हामीलाई यहाँसम्म आउन दिने बाटोका सुरक्षाकर्मीलाई कारबाही हुनु पर्यो नभए हामीलाई काठमाडाैंबाट घर फर्कन चाहने यात्रुलाई लिएर जान दिनु पर्यो ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij