वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताएका छन् ।
नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा आज उनले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल-भारत र चीनको नाका रूपमा विकास गरिने बताएका हुन् ।
उनले भने, ‘आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ । यहाँको उद्योग, व्यापार, पर्यटन विकासका लागि पनि यसको आवश्यकता छ ।’ चुनावी प्रतिबद्धता स्मरण गर्दै नेता लेखकले सुक्खा बन्दरगाह बनाउने कुराको आशंका नगर्न आग्रह गरे ।
दोधारा चादँनी सुक्खा बन्दरगाहको काम अघि बढेको बताउँदै उनले तीन वर्षभित्र स्थापना हुनेमा विश्वस्त रहन आग्रहसमेत गरेका छन् ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणका बेला भारतकै लगानीमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ । अहिले बाँकी प्रक्रियागत काम अघि बढाउन हामी निरन्तर खटिएका छौँ ।’
उनले सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मुल्यांकनलगायतका काम भइसकेको जानकारी दिए । नेता लेखकले विकास र समृद्धिका लागि राजनीतिक दलबीच पनि हातोमालो आवश्यक छ ।
उनले भने, ‘राजनीति पद, मान र प्रतिष्ठाका लागि मात्र गरे त्यो क्षणिक हुन्छ । मुलुकमा शान्ति, शुसासन र स्मृद्धि ल्याउने पार्टी कांग्रेस हो ।’
दोधारा चादँनीमा महाकाली नदी तटबन्ध निर्माण हुँदै दोधारा चादँनी झोलुंगे पुलदेखि चार लेनको पक्की पुल बनिसकेको उनको भनाइ छ ।
उनले भने, ‘अझै पनि तटबन्ध निर्माण, यहाँको शैक्षिक विकास र सडकलगायतका पूर्वाधार विकासका काम अघि बढेका छन् ।
अब सुक्खा बन्दरगाह बन्दैन की भनेर आशंका नगर्नुस् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij