Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

किसानको मुख्य समस्या नै बाँदर

किसानको मुख्य समस्या नै बाँदर

  • 227
    SHARES
  • किसानको मुख्य समस्या नै बाँदर

    भाेजपुर । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।

    मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर  अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भू-भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ ।

    बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।

    बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका-४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको आठ/दश वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ ।

    स्थानी यजासी प्रधानले भने, ‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ । बाँदरको समस्या धेरै नै छ । कहिले बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ । नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ ।’

    बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । उनले भने, ‘एक घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिन भरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ ।  गाउँबस्ती नै आतंकित बनेको छ ।’

    रामप्रसादराई गाउँपालिका-४ दलगाउँका स्थानीय बाँदरको आतंक बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् ।

    बाँदरले बस्तीमा पसेर दु:ख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।

    अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले भने, ‘बाँदरको कारण बस्ती नै खाली भएको छ । वर्षभरि खानको लागि लगाएको अन्नबाली छिन भरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।’

    दश/बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतंक बढेको टेम्केमैयुङ-६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरको कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।

    उनले भने, ‘बाँदरले हामीलाई अतिनै समस्यामा पारेको छ । बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरेको हो । अन्नबाली जोगाउन अतिनै समस्या छ ।’

    बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स-साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नको लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाड्को भोजपुर नगरपालिका-५ का स्थानीय कमला थापाले बताए ।

    उनले भने, ‘बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला पहिला त भाग्थे । अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेट मात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।’

    बाँदर आतंका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका-६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

    यहाँका २० भन्दाबढी घर परिवार बाँदरको कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ ।

    वडाध्यक्ष नेपालले, ‘मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ । यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको संख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।’

    बाँदरको व्यवस्थापनको लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनु पर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताउनुभयो । बाँदर समस्या अन्त्यको लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
     
    उनले भने, ‘धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ । स्थानीयस्तरबाट  नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्बर भूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij