वेबटिभी खबर
जुम्ला । सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधी पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका आठ मेडिकलमा छापा हानेको बताए ।
उक्त मेडिकलमा मनपरी औषधी बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधी र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएको प्रजिअ घिमिरेले जानकारी दिए ।
डाक्टरको सिफारिस बिनै जथाभावी औषधी वितरण गर्दा बिरामीको ज्यानै जानसक्ने जोखिम हुने भएकाले कानुनी प्रक्रिया पूरा गरी मेडिकल सञ्चालन गर्न निर्देशन दिइएको छ ।
यहाँका कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको शिव मेडिकल हल, रावत मेडिकल हल, ओम मनिष पोलिक्लिनिक तथा रेफरल सेन्टर, चन्दननाथ औषधी पसल, बुढ्थापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक र रामारोशन दाँत उपचार केन्द्रमा जिल्लास्तरीय सरोकारवालाको टोलीले अनुगमन गरेको प्रजिअ घिमिरेको भनाइ छ ।
दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधी पसलले भारतीय औषधीसमेत बिक्री गर्ने गरेको जनगुनासो आएपछि पहिलोपटक सदरमुकामका मेडिकलमा अनुगमन गरिएको छ । स्थानीय तहमा सञ्चालन भएका सबै मेडिकलमा समेत अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले औषधी पसलको नियमित अनुगमन गर्न आवश्यक रहेको जानकारी दिए । सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अवैध औषधी पसल खोलेका छन ।
औषधी पसलले गर्भपतन सेवादेखि खोप सेवासमेत अनुमतिविनै चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत हुने भएकाले प्रशासनले विशेष प्रथामिकतामा राखेर काम गर्नुपर्ने नागरिक समाजका अध्यक्ष महतको भनाइ छ ।
सदरमुकाममा झन्डै ३२ मेडिकल सञ्चालनमा छन । सोमध्ये १५ मेडिकल अनुमति नलिइ सञ्चालनमा आएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij