वेबटिभी खबर
संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ ।
पाँचखपन नगरपालिका-७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।
सुत्केरी खड्का र बच्चाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । सुत्केरी भएको १५ मिनेटपछि बच्चाको फोक्सोमा समस्या देखिएको थियो ।
बच्चालाई मुटु र फोक्सोमा समस्या भएपछि जिल्ला अस्पतालमै केही बेर आइसियु र तीन घण्टा भेन्टिलेटरमा राखिएको जिल्ला अस्पताल संखुवासभाका मेडिकल अधिकृत प्रदीप सिलवालले जानकारी दिए ।
बच्चाको मुटु र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको मेडिकल अधिकृत सिलवालले बताए । सुत्केरी खड्काको आज बिहान साढे १० बजे शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ ।
संखुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरिएको छ ।
सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij