वेबटिभी खबर
काठमाडौं । नेपालमा डेंगु भाइरसको संक्रमण सेरोटाइप-२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप-२ स्वरुप बढी देखिएको हो ।
महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले सेरोटाइप-२ स्वरुपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिए ।
महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो ।
परीक्षणमा सेरोटाइप-१, सेरोटाइप-२ र सेरोटाइप-३ देखिएको छ । उनले तीमध्ये सेरोटाइप-१ केहीमा र सेरोटाइप-३ पनि देखिएको छ ।
सन् २०२२ मा भने सेरोटाइप-१ र सेरोटाइप-३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमूना परीक्षणमा सेरोटाइप-१ र सेरोटाइप-२ देखिएको महाशाखाले जनाएको छ ।
एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उनको भनाइ छ ।
अहिलेसम्म नेपालमा डेंगु संक्रमणका चारवटै स्वरुपका सेरोटाइप देखिएका छन् । एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ ।
उनले भने, ‘चारैवटै सेरोटाइपको भिन्न भन्ने हुँदैन । जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्दछ । तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको संक्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन् ।’
डेंगु संक्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक रहेको हुन्छ । उनले भने, ‘पहिलोपटक सेरोटाइप-१ डेंगुको स्वरूप देखिएको छ भने अर्कोपटक संक्रमण हुँदा सेरोटाइप-२ वा सेरोपाइप-३ देखिन्छ । यसरी पुनः डेंगु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।’
डेंगु भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याइने गरिन्छ । शाखा प्रमुख डा दाहालले पहिलोपटक लागेको सेरोटाइपले शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए ।
महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार छ सयल ८८ जनामा संक्रमण देखिएको छ । सबभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा देखिएको छ ।
लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ ।
डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि लाग्ने गर्दछ ।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij