वेबटिभी खबर
दाङ । तुलसीपुरमा चल्ने अटो रिक्सा नजिकैको दंगीशरण गाउँपालिका जान पाउँदैनन्, भने दंगीशरण गाउँपालिकाभित्र चल्ने अटो रिक्सा तुलसीपुर आउन पाउँदैनन् ।
यात्रुलाई यी दुई पालिकाको सिमाना भमके खोला छोडिन्छ । त्यहाँबाट यात्रु अर्को अटोमा चढ्नुपर्छ । केही समयअघि निर्वाधरूपमा चल्ने गरेका अटो रिक्सा पछिल्लो समय त्यसरी चल्न पाएका छैनन् ।
ट्याक्सी समितिले विरोध जनाएपछि अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकाका लागि रुट परमिट दिने गरेका छैनन् ।
त्यसैमा टेकेर ट्याक्सी समितिले अटोलाई अर्को पालिकामा जान दिने गरेका छैनन् । अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकामा रुट परमिट दिन नपाइने व्यवस्था भएपछि पछिल्लो समय अटो रिक्सा चालकले विरोध जनाएका छन् ।
‘अटो रिक्सा सुविधाका लागि चल्ने कुरा हो, हामीले गाउँ-गाउँमा सेवा दिने गरका छौँ ।’ दाङ भ्याली अटो प्रालिका अध्यक्ष वेदप्रकाश वलीले भने, ‘हामीले अहिले पनि गाउँगाउँमा सेवा दिन पाउनुपर्छ ।’
दंगीशरणमा मात्रै ५०/६० को हाराहारीमा अटो रिक्सा छन् । ती अटो बजारमा आउन नपाएमा चल्न सक्ने अवस्था छैन ।
उनले भने, ‘स्वदेशमै केही गरौँ भनेर अटो रिक्सा किनेका हुन्छन् । तर बजारमै आउन नपाएपछि कसरी चल्न सक्छन् ।’ तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनकुमार बुढाथोकीले भने नियमसंत चल्नुपर्ने बताए ।
अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकाका लागि रुट परमिट नभएकाले सोही कुरा कार्यान्वनयन गर्न खोजेको उनले बताए ।
कानूनअनुसार नै रुट परमिट दिएर अटो तथा ट्याक्सी सञ्चालन गर्ने गरिएको यातायात व्यवस्था कार्यालय दाङका प्रमुख रमेश गौतमले बताए ।
उनका अनुसार अटो र ट्याक्सीबीच देखिएका समस्या छलफलबाट हल गर्नेसमेत बताए । तुलसीपुर क्षेत्रमा मात्रै दुई हजार पाँच सय बढी अटो रिक्सा सञ्चालनमा छन् । हाल गाउँ-गाउँमा अटो रिक्साले सेवा दिने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij