वेबटिभी खबर
कास्की । पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ ।
पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा-३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरूद्ध गठित संघर्ष समितिबीच सहमति भएको हो ।
महानगरले फोहर बिसर्जनस्थलमा फोहर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौताबमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयवासीले फोहर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहर उठ्न सकेको थिएन ।
स्थानीयवासीसँग वार्ता गरी समस्या समाधान गर्न महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-२६ का वडाअध्यक्ष नरेन्द्र थापा र वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिइएको थियो ।
वडाअध्यक्षद्वयको पहलमा स्थानीय, संघर्ष समिति र महानगरबीच लामेआहालमै १८ महिना फोहर विसर्जन गर्ने सहमति भएको महानगरले जनाएको छ ।
सहमतिअनुसार फोहर बोकेका गाडी बिर्सजनस्थलमा बिहान ६ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने तत्कालै माटोले फोहर पुर्ने कार्य आवश्यकतानुसार गर्नु पर्नेछ ।
बिर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री संकलन गरिने छैन । सहमतिअनुसार लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ ।
फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ ।
स्थानीयलाई सीपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने र विभिन्न विद्यालयलाई सहयोग उपलब्ध गराउनेलगायतका विषय सहमतिमा उल्लेख रहेको महानगर प्रमुख आचार्यले जानकारी दिए ।
स्थानीयले फोहर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा रिट दर्ता गरेकामा साउन २१ गते अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो ।
त्यससँगै महानगरपालिकालाई लामेआहालमा फोहर व्यवस्थापन गर्ने कानुनी बाटोसमेत खुला भएको थियो । त्यसपछि महानगरले १२ दिनपछि फोहर विसर्जन गरेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौँदेखिको फोहर बिसर्जनस्थलमा फोहरमैला लैजान रोकिएको थियो ।
त्यसपछि महानगरले अस्थायीरूपमा छ महिनाका लागि भनेर लामेआहालमा विसर्जन गर्दै आएको छ । महानगरले पोखरा-३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने तयारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij