वेबटिभी खबर
भजनी । केही दिनदेखि परेको अविरल वर्षाका कारण डुबानको उच्च जोखिममा रहेको कैलालीको भजनी क्षेत्रमा धान भित्र्याउने समयमा डुबान हुने चिन्ता किसानमा देखिएको छ ।
बर्सातको समयमा हुने डुबानकै समस्याले किसानहरुले चैते धान रोप्न थालेको भए पनि यस वर्ष छिट्टै मनसुन सुरु हुँदा भजनीका किसानलाई समस्या भएको हो ।
लगातारको वर्षाले किसानहरुले लगाएको धानबाली खेतमै डुब्ने खतरा रहेको देखिएको छ । भजनी-८ का स्थानीयवासी तुलाराम काफ्लेले लगातार वर्षा हुँदा लगाएको धान बाली भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता बढ्दै गएको बताए ।
त्यसैगरी भजनीका जयप्रसाद ढुङ्गानाले अधिकांश किसानले धान भित्र्याउन नपाएकाले मौसमले साथ नदिए किसानहरूलाई धान भित्र्याउन निकै चुनौती हुने बताए ।
वडा नं ८ सुनाफाँटाका किसान राधा ढुंगानाले यस वर्ष करिब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै धान काट्ने अवस्था भए पनि मौसमका कारण भित्र्याउन नपाएको गुनासो गरे ।
भजनी-३ का चन्द्रबहादुर साउदले पनि लगाएको चैते धान भित्र्याउन पाएका छैनन् । आजभोलि भित्र्याउने तयारीमा रहेका साउदलाई पनि बर्सातले धान थन्क्याउन रोकेको छ ।
भजनीका अधिकांश किसानले चैते धान खेती लगाएका छन् । भजनी-१ देखि ९ सम्मका किसानले धानबाली बाढीले नोक्सान गर्ने भएकाले चैते धान बढी उत्पादन हुने भएका कारण फागुन चैतमा धान रोप्ने गरेका छन् ।
यो धान बर्खे धानभन्दा बढी उत्पादन हुने भएकाले बर्सेनि किसानहरूमा चैते धानप्रति आकर्षण बढ्दै गएको पाइन्छ । यो वर्ष भजनीमा करिब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij