Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

बाढीले कैलालीमा धानबाली र विद्यालयमा क्षति

बाढीले कैलालीमा धानबाली र विद्यालयमा क्षति

  • 136
    SHARES
  • बाढीले कैलालीमा धानबाली र विद्यालयमा क्षति

    कैलाली । गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ ।

    images

    बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्‍यो ।’

    बाढीले उहाँको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ । भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ ।

    जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए ।

    उनले भने, ‘नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ । धानबाली बाढीमा डुबेको छ । कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ ।’

    भजनी नगरपालिकाका यी वडामा १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्सेनि बाढीको डुबान हुने क्षेत्र भएकाले नगरमा बाढीग्रस्त क्षेत्रमा वसन्त ऋतुमा चैते धान खेती हुने गरेको छ ।

    बाढीले बर्खे धानबाली मात्र नभई चैते धान बालीलाई समेत असर गरेको उनको भनाइ छ । उनले भने, ‘कतिपयले बाली काटिरहेका थिए, चैते धान खेती गरेर घर भित्र्याएको अन्न पनि बाढीले नष्ट गरेको छ ।’

    बाढी अहिले पनि नघटेको भन्दै पानीको सहत घटे क्षति भएका बालीको अनुगमन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने शाखा प्रमुख अधिकारीको भनाइ छ ।

    भजनी नगरपालिकामा मोहना, कान्द्रा, काँढा र परथैया नदीको पानीले डुबान हुने गरेको छ । डुबान हुँदा धानबाली पूर्णरुपमा नष्ट हुने अवस्थामा पुगेकाले धेरै किसान मारमा पर्ने गरेका स्थानीय जयबहादुर बुढाले बताए ।

    उनले भने, ‘हरेक वर्ष यहाँका किसानले बाली गुमाउनुपरेको छ । दीर्घकालीन समस्या समाधान नभए यहाँ खेती नै नगर्ने बढ्ने छन् । लाखौँ खर्चिएर खेती गरेकाहरु बाढीका कारण रुनु परिरहेको छ ।’

    यता टीकापुर नगरपालिकाको वडा नं ६ मा समेत धानबालीमा बाढीले क्षति पुर्याएको छ । बाढीले धानबालीका पुगाएको क्षतिको विवरण लिने काम भइरहेको पालिकाले जनाएको छ । 

    विद्यालयमा पनि क्षति

    सोमबार र मंगलबार लगातार आएको वर्षापछि साउन २३ गते आएको बाढीले कैलालीका बाढी प्रभावित क्षेत्रका विद्यालयमा समेत क्षति पुगेको छ ।

    बाढीले विद्यालयमा पानी पस्दा कागजात, कापी किताब, बिच्छ्याइएका कार्पेट, बालबालिका बस्ने कुसन नष्ट भएका छन् । 

    टीकापुर नगरपालिका-६ भगवानपुस्थित खड्ग आधारभूत विद्यालयका चार कोठामा बाढी पसेपछि कार्पेट, शैक्षिक सामग्रीलगायतमा क्षति भएको छ ।

    विद्यालयमा परीक्षा चलिरहेकाले पानी पसेका कोठामा सरसफाइलगायतका काम भइरहेका, भिजेका कागजात सुकाउन लागिएको प्रधानाध्यापक रामप्रसाद खनालले बताए ।

    उनले भने, ‘बाढीले भिजेका कागजात सुकाउन थालेका छौँ, राम्ररी घाम पनि लागेको छैन, कतिपय किताब काम नलाग्ने गरी नष्ट भएका छन् ।’

    जनज्योति आधारभूत विद्यालय भर्तापुरका प्रधानाध्यापक पूर्णप्रकाश शाह बाढी विद्यालयमा पसेपछि करिब रु ५० हजार बराबरको क्षति भएको बताए ।

    उनले भने, ‘भर्तापुरमा कार्पेट, कुसन, काजगात र किताब भिजेका छन् । विद्यालयमा परीक्षा चलिरहेकाले दुई कोठा सफा गरेर परीक्षा भइरहेको र बाँकी बाढीका कारण हिलाम्मे भएकाले विद्यालय सरसफाइ गर्ने काम भइरहेको छ ।’

    नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाअध्यक्ष विक्रम चौधरीले बाढीले विभिन्न स्थानमा विद्यालयमा क्षति पुर्‍याएको बताए ।

    उनले भने, ‘वडा नं ८ का सबै विद्यालय र वडा नं ३ का जाल्पा आधारभूत विद्यालय बर्दवाफाँटा, पडरियास्थित केदारनाथ आधारभूत विद्यालय र मदरसा विद्यालयमा बाढी पसेको छ । वडा नं ८ मा शिव आधारभूत विद्यालय, कृष्णध्वज मावि, कालिका आधारभूतलगायतका विद्यालय डुबानमा परेका छन् । शिक्षकलाई पूर्वतयारीबारे जानकारी भएकाले विद्यालयका कागजात सुरक्षित छन् । अब सरसफाइलगायतका कार्य गर्नुपर्नेछ ।’

    भजनीका विद्यालयमा बर्खे बिदा भएकाले विद्यालय बन्द हुँदा पढाइमा असर नपरेको उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology