Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नियमित उडान नहुँदा एक महिनाको अवधिमा चार बालकको मृत्यु

नियमित उडान नहुँदा एक महिनाको अवधिमा चार बालकको मृत्यु

  • 173
    SHARES
  • नियमित उडान नहुँदा एक महिनाको अवधिमा चार बालकको मृत्यु

    हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ ।

    विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन ।

    सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट-७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ-१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली-४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताइन् ।

    ‘हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन’, सिनियर अनमी बोहराले भनिन् । नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन ।

    बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्ला बाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन ।

    जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका-६ का सुरज सुनारले गुनासो पोखे ।

    आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको सुनारले बताए । अस्पतालका चिकित्सक डा.रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो ।

    निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो । ‘बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन’, डा.रावतले भने । सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij