वेबटिभी खबर
लहान । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको कांग्रेस-माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।
आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छौँ र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ । मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्नेछौँ ।’
उनले पूँजीगत रकमका आकार सानो भएकाले साना योजनामा रकमान्तर गर्न नसकेको स्वीकार गरे । तराई मधेसको कृषिको विकासका लागि सुनकोसी-मरिण डाइभर्सन र कमला सिँचाइ आयोजनालाई सरकारले उच्च महत्त्व दिएर लागिपरेको पनि उनले प्रष्ट पारे ।
समारोहमा मन्त्री महतले कार्यकर्तालाई कांग्रेसको संस्थागत निर्णयमा एकताबद्ध भएर लाग्न आह्वानसमेत गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij