Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौँ : मन्त्री शर्मा

सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौँ : मन्त्री शर्मा

  • 269
    SHARES
  • सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौँ : मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छन ।

    सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँगको भेटमा मन्त्री शर्माले राष्ट्रिय हितलाई ध्यान दिँदै सूचना प्रविधिको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताएकी हुन ।

    सूचना प्रविधिलाई समृद्धिको प्रमुख आधारको रुपमा नेपाल सरकारले लिएको जानकारी दिँदै उनले नेपाल सरकारले यो वर्षदेखि वार्षिक पुँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरेको जनाइन् ।

    भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको जानकारी दिइन् । अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन लागिएको जानकारी दिइन् ।

    चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्‍याउने तयारी गरिएको जनाउँदै मन्त्री शर्माले देशभर फाइभजी सेवा विस्तार गरिने बताइन् ।

    ‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ’, मन्त्री शर्माले भनिन्, ‘नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जिटुजी, पिटुपी (सरकार-सरकार, जनता-जनता) सहयोग आदान प्रदान गर्न हामी इच्छुक छौँ ।’

    भेटमा राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए । कोरिया नेपालमा वैदेशिक लगानी गर्ने चौँथो मुलुक रहेको जानकारी दिँदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको जनाए ।

    नेपालमा कोरियाको सरकारी तहबाट मात्र नभइ निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै सामसुङले पुल्चोक क्याम्पसको ‘इन्नोभेसन सेन्टर’मा सहयोग गरिरहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij