Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डेढ महिनादेखि ४०० परिवार अन्धकारमा

डेढ महिनादेखि ४०० परिवार अन्धकारमा

  • 254
    SHARES
  • डेढ महिनादेखि ४०० परिवार अन्धकारमा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् ।

    पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजीवन प्रभावित बनेको हो ।

    मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । धौलागिरि गाउँपालिका-२ का वडाअध्यक्ष अकप्रसाद विकले परियोजना बगाउँदा चार वटा बस्तीका तीन सय ७० घरधुरी डेढ महिनादेखि अन्धकार बनेका बताए ।

    उनले भने, ‘नहरबाट आएको पानी संकलन हुने ट्यांकी भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको छ । पेनस्टक पाइप, विद्युत्गृह र उपकरण पहिरोले खोलामा मिसाएको छ ।’

    विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना विसं २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

    केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताए ।

    उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चाँर्ज गर्न, ल्याबटप, कम्प्युटर चलाउन समस्या भएको छ ।

    विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न समस्या भएको छ । पछिल्लोपटक परियोजना मर्मत गर्न गाउँपालिकाले  १२ लाख र स्थानीय पूर्वाधार विकास कार्याक्रममार्फत रु दश लाख खर्च भएको थियो ।

    धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए ।

    उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड बजेटको ठेक्का सम्झौताको तयारीमा छ । लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij