वेबटिभी खबर
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगी रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।
संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग मुलुकभर फैलिएको र आतंक सिर्जना गरेको बताए । अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेंगीको संक्रमण पुष्टि हुने गरेको उनको भनाइ छ ।
‘अहिले डेंगी रोगले देशभर आतंक सिर्जना गरेको छ । यो रोग निवारणका लागि समुचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहान्छु’, कार्कीले संसद्मा भने, ‘जटिल अवस्थामा पुगेका बिरामीलाई विशेष अस्पतालको प्रबन्ध गरेर उपचार थालियोस् ।’
औषधी र स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले उपचार पाउन नसकेको बारे पनि कार्कीले सरकारको ध्यानाकर्षण गराए । अहिले सुनसरी जिल्लामा मात्र १४ हजार दुई सय ६४ जना डेंगी रोगीका संक्रमित रहेको र त्यहाँ डेंगीबाट मृत्यु हुनेको संख्या पनि बढिरहेकाले यो विषयमा गम्भीर हुनुपर्ने उनको जोड दिएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij