वेबटिभी खबर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिएकी छन ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताए ।
‘यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ’, मन्त्री शर्माले भने, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।’
एक अर्को प्रसंगमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसद्बाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गरिन् । मन्त्री शर्माले भने, ‘संसद्को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन, कार्यान्वयन स्वाभाविक ढंगबाट हुने नै भयो ।’
व्याख्यात्मक घोषणा कार्यान्वयनका सन्दर्भमा आकर्षित हुन्छ कि हुन्न भन्ने विषय प्रमुख कुरा भएको उल्लेख गर्दै उनले यसका निम्ति सरकार सचेत रहेको र व्याख्यात्मक टिप्पणीसँग मिसाएर अघि बढ्ने बताइन् ।
टेलिफोन सेवाका सम्बन्धमा टेरामक्स प्रणालीबारे उठेका प्रश्नका सम्बन्धमा सोधिएको प्रश्नमा उनले हिजोको सरकारको निर्णय भए पनि कार्यान्वयनमा लाने कि नलाने भन्ने आजको विषय भएको जनाइन् ।
मन्त्री शर्माले भने, ‘कार्यान्वयनमा लानुभन्दा पहिला उठेको प्रश्नको उत्तर दिनुपर्छ । उत्तरलाई प्रष्ट पार्नुपर्छ । कुनै पनि नागरिकको आवश्यकताविना फोन ट्यापिङ गरिन्न, कानून र नियमले दिने कुरामा पछाडि हट्दैनौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij