Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

  • 219
    SHARES
  • जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

    बेनी । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो ।

    जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् ।

    अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् ।

    समुद्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।

    उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् ।

    पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ ।

    क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए ।

    त्यसैगरी रघुगंगा गाउँपालिका-८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

    जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ ।

    ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताए । हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको संख्या बढ्दै गएको छ ।

    जनैपूर्णिमाको दिन आफ्नो मनोकांक्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ ।

    यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनले  पूजाआजा र भाकल गर्ने चलन छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij