Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सुशासन र समृद्धिको यात्रामा सरकार छ : प्रधानमन्त्री प्रचण्ड

सुशासन र समृद्धिको यात्रामा सरकार छ : प्रधानमन्त्री प्रचण्ड

  • 264
    SHARES
  • सुशासन र समृद्धिको यात्रामा सरकार छ : प्रधानमन्त्री प्रचण्ड

    गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताएका छन् ।

    समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए ।

    यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ ।

    उनले रेमिट्यान्स एवं राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चितीलगायतमा उपलब्धि हासिल भएको बताए । अर्थतन्त्रमा अझै पनि दबाब कायम रहेको बताउँदै उनले बैंकको ब्याजदर, सहकारी क्षेत्रलगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताए ।

    भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री दाहालले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पारे ।

    भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेका छानविन निष्कर्षतिर जाने उनले बताए ।

    भारत भ्रमणका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उनले भएका उपलब्धिलाई सुन्ने तथा भन्ने वातावरण पनि नदिइएको उल्लेख गरे ।

    आफूले चाँडै नै न्यूयोर्क र त्यसपछि चीनको भ्रमणमा जान लागेको जानकारी दिँदै उहाँले न्यूयोर्कमा जलवायु परिवर्तनबाट भएका विपत्तीलगायत विषयमा छलफल गरिने बताए ।

    चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने उनले जानकारी दिए ।

    उक्त भ्रमणका क्रममा कोरोला नाका र रूइला नाका खोल्ने चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको प्रधानमन्त्री दाहालले बताए ।

    नेपालले चीनसँग सुकेको घाँस निर्यात, राँगो तथा भैँसीको मासु नियात गर्न सक्ने धेरै किसिमका सम्भावना रहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाललगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुखरूपले कुरा उठाउने बताए ।

    जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको उनको भनाइ छ ।

    उनले भने, ‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु । यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाललगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीररूपले कुरा उठाउँछु । आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिङ्गो मानवजातिको भविष्यमा नै चुनौती खडा भएको छ । यसबारे गम्भीररूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ ।’

    कुनै आवेगमा आएर समाजवादी मोर्चा गठन नभएको स्पष्ट पार्दै उनले यसले  सच्चा कम्युनिष्ट तथा लोकतन्त्रवादीलाई एकताबद्ध बनाउँदै लैजाने बताए ।

    विभाजित कम्युनिष्ट एक ठाउँमा केन्द्रित हुनु आवश्यक भएको उल्लेख गर्दै उनले समाजवादको नयाँ उद्देश्यमा पुग्नका लागि एकता आवश्यक भएको बताए ।

    परिवर्तनको उपलब्धिको रक्षार्थ विभाजित भएर नभै एकताबद्धरुपमा अघि बढ्नु जरुरी रहेको बताउँदै उहाँले मोर्चा प्रतिको आस्था र विश्वास बढ्दै गएको बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले जनताका लागि भनेर अहिलेको परिर्वतन ल्याएकाले अब काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताए ।

    जनताले वर्तमान सरकारप्रति ठूलो आशा गरेकाले काम गरेर जनताको मन जित्नुपर्नेमा उनले जोड दिए ।

    अध्यक्ष नेपालले भने, ‘जनताले अहिले ठूलो आशा गरेका छन् । जनताका लागि परिर्वतन ल्याएकाले काम गरेर देखाउनु पर्ने चूनौती छ । सरकारको हात पनि बलियो बनाउने र सरकारको साथमा जनता छन्, राजनीतिक दल पनि छन् भनेर मोर्चाको अवधारणा अघि सारेका हौँ ।’

    अध्यक्ष नेपालले चार दलीय मोर्चालाई सरकारसँग मात्र जोडेर हेर्न नहुने उल्लेख गरे । उनले कसैले देशको राष्ट्रियता र स्वाभिमानमा आँच पुर्‍याएमा मोर्चा चुप लागेर नबस्नेसमेत दाबी गरे ।

    उनले भने, ‘कसैले यो मोर्चालाई सरकारसँग मात्र जोडेका छन् । सरकारसँग मात्र जोड्ने होइन । सरकारसँग पनि जोड्ने हो, जनता र देशसँग पनि जोड्ने हो । यो मोर्चा तीन वटै क्षेत्रमा क्रियाशील हुनेछ ।’

    वर्तमान सरकारले निष्पक्ष ढंगबाट काम गरिरहेकाले सबैले साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिए । देशमा सुशासन कायम गर्ने सँगसँगै सरकारले देश विकासका क्षेत्रसमेतमा पहल गरिरहेको अध्यक्ष नेपालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij