Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार

सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार

  • 279
    SHARES
  • सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार

    काठमाडौं । नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका ६ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ ।

    मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९/०८०मा सर्पले डसेर आएका ६ हजार ४६७ जनालाई उपचार सेवा प्रदान गरेको हो ।

    तीमध्ये सेनाको पूर्ण स्वामित्वमा पाँच, सेना(स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको सहकार्यमा १४ तथा सेना र स्थानीयबीचको समन्वयमा चार वटा सर्पदंश केन्द सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सर्पदंशबाट अतिप्रभावित २६ मध्ये १८ जिल्लामा सञ्चालित ती २३ केन्द्रमा २४ सैँ घण्टा सैनिक जनशक्ति परिचालित भई प्रदान गरिएको उपचार सेवाबाट सर्पले टोकेर हुने मृत्युदर घटाउन ठूलो सहयोग पुगेको छ ।

    नेपालका तराईका सम्पूर्ण तथा भित्री मधेसका केही जिल्लालाई विषालु सर्पको बिगबिगीका हिसाबले जोखिम मानिन्छ । विषालु सर्पले डसेमा तुरुन्तै उपचार प्राप्त नभएमा बिरामीको ज्यानै जाने जोखिम उच्च रहन्छ ।

    ती उपचार केन्द्रमार्फत सेनाको सहयोगमा हालसम्म एक लाख १६ हजार तीन सय ५१ जना सर्पले टोकेर आएका बिरामीको उपचार भइसकेको छ ।

    सोबाहेक सेनाका क्षेत्रीय अस्पताल, फिल्ड एम्बुलेन्स गुल्म र विभिन्न युनिटमा रहेका स्वास्थ्योपचार कक्षले समेत आवश्यकता र स्रोत साधनको  उपलब्धताअनुसार सर्पदंश, बिच्छी, खजुरोलगायतका किराले टोकेर आएका बिरामीलाई सेवा प्रदान गर्दैआएको छ ।

    झापाको चारआली, मोरङको कालापानी(लेटाङ, सुनसरीको इटहरी ब्यारेक, उदयपुरको  बेलका, कटारी र भुल्के,  सप्तरीको कल्याणपुर, सिरहाको बन्दीपुर र चौहर्वा, धनुषाको महेन्द्रनगर ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ ।

    झापाको चारआली र कपिलवस्तुको गोरुसिङ्गेमा विसं २०६० मा स्थापना भएका सर्पदंशसम्बन्धी पुराना उपचार केन्द्र हुन् भने महोत्तरीमा स्थापित केन्द्रले सबैभन्दा बढी उपचार सेवा प्रदान गर्दैआएको छ ।

    वि.सं २०७१ मा स्थापना गरिएको महोत्तरीको बर्दिवासमा रहेको केन्द्रले सर्पले टोकेर आएका ३० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको छ ।

    सर्लाहीको लालबन्दी, पर्सा ठोरीस्थित निर्मलबस्ती, नवलपरासीको त्रिवेणी, कपिलवस्तुको गोरुसिङ्गे र बहादुरगञ्ज, दाङको गढवा, प्युठानको  स्वर्गद्वारी-दिवाङ, बाँकेको ओभरी र इमामनगर ब्यारेक, बर्दियाको ठाकुरबाबा, कञ्चनपुरको अर्जुनी र कैलालीको  गौरीगंगामा सर्पदंश उपचार केन्द्र सेनाको सहकार्यमा सञ्चालनमा छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी मानिसलाई सर्पले डस्ने गरेको तथ्यांक छ । वार्षिकरुपमा एक हजारभन्दा बढीको सर्पदंशका कारण निधन हुने गरेको छ । नेपालमा खासगरी विभिन्न प्रजातिका गोमन र करेत सर्प बढी विषालु मानिन्छ ।

    स्वास्थ्य विभागका तथ्यांकअनुसार नेपालका २६ जिल्लालाई सर्पदंशबाट अतिप्रभावित मानिएको छ । झण्डै ९० प्रजातिका सर्प यहाँ पाइन्छ । त्यसमध्ये १७ देखि २० प्रजातिका सर्पलाई विषालु मानिन्छ ।

    पर्याप्त सचेतना र उपचारको अभावमा बर्सेनि एक हजारभन्दा बढी सर्वसाधारणको सर्पले टोकेर ज्यान गुमान परेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा सर्पदंशबाट हुने विश्वव्यापी मृत्यु तथा अपांगतालाई ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।

    नेपालमा सर्पदंश जोखिम न्यूनीकरणका लागि सरकारको प्रयासमा सेना जोडिएको छ । सोहीक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्रमार्फत  उपचारालाई छिटो र प्रभावकारी बनाउँदै सेनाले हजारौँको ज्यान जोगाउन सफल भएको छ ।

    अधिकांश सर्प उपचार केन्द्र सैनिक ब्यारेकसँगै सञ्चालनमा रहेकाले बिरामीले सहज र सुरक्षित महसुस गर्दैआएका छन् । सर्पको टोकाइबाट बच्न खाटमा सुत्ने, झुल हाल्ने, जुत्ता लगाउने, राति हिँड्नु परेमा उज्यालो बालेर मात्र हिँड्ने, घर वरपरका प्वाल बन्द गर्ने र झारपात हटाउनुपर्ने हुन्छ ।

    कदम कदाचित सर्पले टोकी हालेमा बिरामीलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पुर्‍याउन सक्नु नै बुद्धिमानी हुन्छ । सेनाले सर्पले डसेपछि उपचार गर्ने मात्र नभई समय-समयमा सामुदायमा पुगेर सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सर्प

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij