वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् ।
प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिस्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताए ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत अन्य साना कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुन आवश्यक रहेकाेमा उनको जोड थियो ।
उनले भने, ‘कम्युनिस्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छौँ । कम्युनिस्टको मुख्य लक्ष्य समाजवाद हो, समाजवादमा पुग्ने आधारमा मानेर कमसेकम एक ठाउँमा बस्ने, सहकार्य गर्ने र चुनावमा कार्यगत एकता गर्नुपर्दछ ।’
उनले कम्युनिस्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको उनकाे भनाइ छ । उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेसँग मिल्ने भएकाले एकता गरी गाभ्नुपर्ने बताए ।
उनले भने, ‘आजसम्म माधवकुमार नेपालको पार्टी समाजवादी पार्टी नै हो, उक्त पार्टीको नीति हाम्रो पार्टीको नीति नै हो, हाम्रो नीतिबाहेक अर्को नीति छैन, व्यक्ति र पार्टीको नाममात्र फरक हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij