वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ ।
वन्यजन्तुको अंग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका बस्ने वर्ष ५० का पूर्णसिंह तामाङ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिकाका ३५ वर्षीय कर्ना तामाङ रहेको ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
केही अघि पक्राउ गरी आज विवरण सार्वजनिक गरेको ब्यूरोले उनीहरु चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाइएको जानकारी दिएको छ ।
उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij